२०८१ बैशाख १५ गते शनिवार

आजदेखि एसइई परीक्षा शुरू

दाङमा १२ हजार बढी विद्यार्थी एसइई दिदैं

दाङ,चैत १५ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु भएको छ ।

जिल्लाका १० वटै पालिकाका २ सय ४२ वटा विद्यालयबाट १२ हजार ८ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।

सामुदायिक, खुला र संस्थागत गरी २ सय ४२ वटा विद्यालयबाट नियमिततर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय २३ जना र ग्रेट वृद्धितर्फ ३ सय ४७ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुन लागेका हुन् ।

त्यस्तै जिल्लामा यो वर्ष ४ जना छात्र र २ जना छात्रा गरी ६ जना दृष्टिविहिन विद्यार्थी परीक्षा सहभागी हुँदैछन् । उनीहरूले सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा ८ पास गरी ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगी राख्न पाउने छन् ।

परीक्षाका लागि ४७ वटा परीक्षा केन्द्र तोकिएको र सबभन्दा बढी घोराही र तुलसीपुरमा परीक्षा केन्द्र रहेको इकाइ प्रमुख चौधरीको भनाइ छ । जसमा घोराही र तुलसीपुरमा १४/१४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै लमहीमा ५ , राप्ती र गढवामा ३/३, शान्तिनगर, बबई र दंगीशरणमा २/२, बंगलाचुली र राजपुरमा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि सुरक्षाकर्मी बाहेक १ हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिने भएको छ ।

परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिनेछ।

गतवर्षको तुलनामा यस वर्ष दाङमा परिक्षार्थीको संख्या घटेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले जानकारी दिए ।

गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा दिने विद्यार्थी संख्या ५ सय ५४ जनाले घटेको हो ।

परीक्षा केन्द्रमा विद्यार्थीको सङ्ख्याको आधारमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन हुने समेत उहाले बताए ।

परीक्षार्थीका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने अन्य परीक्षा सामग्रीहरु सम्बन्धित निकायमा पुगिसकेको छ । आजदेखि सुरु भएको एसइई परीक्षा २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *