
तुलसीपुर, फागुन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हंसराज केसी उक्त पार्टी त्यागेको घोषणा गरेका छन् । २०६२÷०६३ को आन्दोलन ताका केसी तत्कालिन बिद्रोही शक्ति नेकपा माओबादीका कार्यकर्ता थिए ।
माओबादी त्यागेर राप्रपा रोजेका केसीले त्यो पार्टी पनि त्यागेपनि अब कुन पार्टी रोज्ने भन्ने बारे कुनै कुरा खुलाएका छैनन् । ‘ नयाँ बर्ष २०८१ पछि कुन पार्टीमा जाने भन्ने बारे सोचौंला,’ उनले भने ‘ त्यसअघि म स्वतन्त्र रुपमा बस्न चाहान्छु ।’
पार्टीका पूर्व दाङ जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि केसीले आफ्नो सामाजिक संजाल फेस बुक पेजमा आइतबार बिहान बिभिन्न १२ बुँदे असहमति राख्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरि आइतबारका दिनदेखि पार्टी त्यागेको घोषणा गरेका छन् ।
पछिल्ला दिनहरुमा दिन प्रतिदिन नेतृत्वले गरेको स्वइच्छाचारी र पार्टीको महाधिवेशनको म्याण्डेट बिपरित पार्टीलाई एउटा सामान्य क्लब भन्दा तल्लो स्तरमा राखिएको कुरा केसीले उल्लेख गरेका छन् ।
उनले पार्टी पुस्तान्तण र रुपान्तरण गर्ने ठूलो अभिलाषा राखेर ल्याएको नयाँ पुस्ता पुरानाहरु भन्दा अझै ९९ गुणा खराब निस्किदा लाचार भएर टुलुटुलु हेरेर बस्ने अन्धभक्त कदापी बन्ने नसकेको उल्लेख गरेका छन् ।
महाधिवेशनको मर्म र भावना विपरित महाधिवेशन प्रतिनिधिले हराएका तीन जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको कुरा, गण्डकी प्रदेशमा निर्वाचित अध्यक्षलाई केन्द्रीय उपाध्यक्ष मनोनित गएिको कुरादेखि विधानमा सचिवालय प्रमुख महामन्त्री हुनु पर्नेमा उपाध्यक्षलाई सचिवालय प्रमुख वनाएको सन्दर्भमा पार्टी अध्यक्षको उनले आलोचना गरेका छन् ।
केन्द्रीय समिति १९९ हुनु पर्नेमा करिव चार सयको संख्यामा आफ्ना गुटका भजन मण्डली मात्रै राखिएको, पार्टीको आर्थिक हिसाब पारदर्सी नभएको, तीन सिटमा मात्रै नेकपा एमाले संग कुन ऐजेन्डाका आधारमा निर्वाचनमा तालमेल गरिएको हो ? भन्ने जस्ता सवाल केसीले उठाएका छन् ।
त्यस्तै उनले पार्टी अध्यक्षलाई समानुपातिकमा चयन भएका प्रत्येक माननीय संग रकम उठाएको गम्भीर दोषारोपन पनि गरेका छन् । ‘हिजो सामान्य अटोरिक्सा चड्ने हैसियत बाट पार्टी अध्यक्ष हुना साथ एकाएक काठमाडौमा घर र महिनामा २५ दिन जहाज यात्रा गर्ने पैशा कहाँ बाट आउँछ,’ उनले लेखेका छन्, ‘भ्रष्टाचार भनेको केवल रकम हिनामिना मात्र होइन,आशा र भरोसा देखाएर पदको चरम दुरुपयोग गर्नु अझ बढी भ्रष्टाचार गर्नु हो।’
साथै पार्टी त्यागको घोषणा गरेका केसीले आँफै उनका क्रियाकलाप बिरुद्ध पार्टीले स्पष्टिकरण सोधेको कुरापनि खोलेका छन् । त्यसबाट पार्टीले स्पष्टिकरण सोधेको प्रति उनले रोषपनि प्रकट गरेका छन् ।