काठमाडौं ,फागुन २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिबार बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।
तर उम्मेदवार भनेपछि चयन गरिने कांग्रेसले जनाएको छ। राष्ट्रिय सभा सदस्यहरूसँग छलफल गरेर उम्मेदवारको टुंगो लगाउने निर्णय भएको बैठकले गरेको हो।
यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको तयारी थियो। तर, सत्ता समीकरण फेरिएपछि कसलाई उम्मेदवार बनाउने भन्ने कांग्रेस अन्योलमा छ। राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद छन्।
नयाँ गठबन्धनबाट राष्ट्रिय सभाको अध्यक्षमा माओवादीबाट उम्मेदवार उठाउने सहमति भएको छ। हाल राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ। राष्ट्रिय सभामा नयाँ गठबन्धनको बहुमत छ।
माओवादीका उपाध्यक्षसहित १७, एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन्। राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ।