
तस्विरः काठमाडौँको बम विस्फोटमा मारिएका दाङका गोकुल राना ।
दाङ, जेठ १३ ।
काठमाडौँमा आइतबार गराइएको बम विस्फोटमा परी दाङका गोकुल रानासहित चारजनाको सनाखद भएको छ । प्रहरीका अनुसार दाङको बबई गाउँपालिका वडा नम्बर ३ हंसपुर धनुवास निवासी ३० बर्षीय राना सुकेधारामा भएको विस्फोटमा परी मृत्यु भएको छ । उनी विप्लव नेतृत्वको नेकपाका जनमुक्ति सेना जवसका कमाण्डर थिए । राना पूर्व जनमुक्ति सेना हुन् ।
सेना समायोजनका क्रममा रानाले स्वच्छिक अवकास रोजेका थिए । रानाको साथीभाइ माझ एकजना कलाकारको छवि थियो । उनी बाँसुरी, मादल निकै मिठो बजाउँथे । साहित्यमा रुचि राख्ने रानाले रेडियो हापुरेमा केही समय साहित्यिक कार्यक्रम पनि सञ्चालन गरेका थिए । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीबाट मागी विवाह गरेका रानाका एक छोरा, दुई छोरी र श्रीमती छन् ।
राना सानो उमेरदेखि नै तत्कालिन समयमा माओवादी युद्धमा लागेका थिए । पछिल्लो समय उनको विप्लवसँग राम्रो सम्पर्क स्थापित रहेको स्रोतको दाबी छ । सुकेधारामा भएको विस्फोटमा परि विप्लव माओवादीका थप अन्य दुईजना जनमुक्ति सेना जवसका कमाण्डरहरु कालिकोटका दिपेन्द्र भन्ने विभुराम बिक र निरन्तर मल्ल ठकुरीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुने प्रज्वल शाही हुन् । सिटिइभिटीमा पढ्ने उनी विप्लव माओवादीको विद्यार्थी संगठनका केन्द्रीय सदस्यसमेत हुन् । विस्फोटमा परेर घाइते भएका पाँचजना विप्लवका कार्यकर्ता अहिले प्रहरीको नियन्त्रणमा अस्पतालमा उपचाररत छन् ।
घट्टेकुलोमा घाइते भएका त्रिचन्द्र कलेजका इकाई अध्यक्ष रविन केसीको वीर अस्पतालमा उपचार भैरहेको छ । सुकेधारामा घाइते भएका सैलुन सञ्चालक जीवकुमार ठाकुरको पनि वीर अस्पतालमै उपचार भइरहेको छ ।
सुकेधारा विस्फोटमा परी घाइते भएका कपनका हरि खड्का, ललितपुर चुनिखेलका सुनिल महर्जन र नाम खुल्न नसकेका अर्का एक कार्यकर्ताको ओम अस्पतालमा उपचार भइरहेको छ । महर्जन विप्लव माओवादीको नेवा मुक्ति मोर्चाका अध्यक्ष हुन् भने खड्काको पार्टीमा जिम्मेवारी के थियो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
बम विस्फोटमा मारिने चारैजना विप्लवका जनमुक्ति सेना
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइवार राजधानीमा भएको बम विस्फोटमा मारिने सबै आफ्ना नेता कार्यकर्ता भएको स्वीकार गरेका छन् । सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै उनले मारिने सबै आफ्नो नेता कार्यकर्ता भएको स्वीरका गरेका छन् । जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वल शाही, कमरेड निरन्तरको सहादत भएको विप्लवले उल्लेख गरेको छ ।
साथै यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

यसैबीच विप्लवले सरकारी दमनका कारण आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएको उल्लेख गरेका छन् । उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको पनि तर्क गरेका छन् ।
विप्लवको विज्ञप्तिमा कम्युनिस्टका नाममा केपी–पीके कम्पनीले नेपालमा फाँसीवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फाँसीवादी सरकारले नेकपा सम्बद्ध युवा संगठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा झूठो मुठभेठका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरेको उल्लेख छ । यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने विप्लवले उल्लेख गरेको छ ।
