२०८३ असार २७ गते शनिवार

नयाँ गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ,फागुन २२ । नयाँ सत्ता-गठबन्धनको कार्यदल बैठक मंगलबार बस्ने भएको छ। आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय भागबन्डाका ला‍गि बैठक बस्न लागेको हो।

नयाँ सत्ता गठबन्धनमा नेकपा एमालेका शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले मन्त्रालयको भागबन्डाका विषयमा छलफल गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। उनले हिजो सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह। परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *