२०८१ बैशाख १० गते सोमवार

एमालेको अवरोधका कारण स्थगित संसद बैठक पुन:सुरु

काठमाडौँ,फागुन १४ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन:सुरु भएको छ।

विवाददित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त् गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

उक्त बैठक करिब १५ मिनेटपछि पुन:सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।

रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको हो। सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ। माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

एमालले टेरामक्स खरिद मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम निजी कम्पनीले दिने निर्णयमा संलग्न पर्यटनमन्त्री सुदिन किराँतीले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

प्रत्येक संसद बैठकमा एमालेले विवादित मन्त्रीले राजीनामा दिनुपर्ने र त्यसबारे प्रधानमन्त्री जवाफ दिनुपर्ने बताउँदै आएको छ। सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा जवाफ दिन रुलिङसमेत गरेका छन्।

सोमबारको बैठकमा एमालेका तर्फबाट सांसद गोकुल बास्कोटाले आपत्ति जनाउँदै आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताएका थिए।

सोमबारको कार्यसूचीमा विवादित मन्त्री बस्नेतले नै विद्युतीय व्यापार विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची राखेपछि एमालेले त्यसमाथि पनि आपत्ति जनाएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *