तुलसीपुर, फागुन १० । रोल्पाको त्रिवेणी गाउँपालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका सोही पालिकाका दुई युवाका परिवारलाई क्षतिपूर्ती बाफत जनही १६ लाख क्षतिपूर्ती दिन सहमत भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, गाउँपालिकाका पदाधिकारी र प्रहरी प्रशासनका बीचमा बिहीबार मृतक दुई युवाका परिवारलाई जनही १६ लाख क्षतिपुर्ती दिने सहमति भएको हो ।
दुई युवाका परिवारलाई १५ ÷ १५ लाख क्षतिपूर्ती बाफत र थप एक ÷ एक लाख क्रियाखर्च बाफत उपलब्ध गराउने सहमति भएको एक जना आफन्तले जानकारी दिए ।
त्यस्तै मृतक दुबै परिवारका सम्पूर्ण सदस्यको आजिवन जीवन विमा गरिदिने , मृतकका बाल बच्चालाई उच्च शिक्षासम्म अध्यापन गर्न लाग्ने सम्पूर्ण खर्च बेहोर्ने, मृतक मध्य नेत्र भण्डारीकी श्रीमतिलाई पालिकामा क्षमता अनुसारको रोजगारी दिने र अर्का मृतक बिबेक (बालकृष्ण) पुन अविबाहित रहेको हुँदा उनकी एक दिदी र बहिनीलाई पनि गाउँपालिकामा रोजगारी दिने सहमति भएको स्रोतले बताएको छ ।
बुधबार एकाबिहानै घोराहीको सर्रामा भएको सवारी दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका –५ गुँइतीबाङका २४ वर्षीय नेत्र भण्डारी र सोही ठाउँका २१ वर्षीय बिबेक पुनको मृत्यु भएको थियो ।
उनीहरु नाताले उनीहरु दाजु भाइ थिए । भण्डारी रोल्पामा पढाउने शिक्षक थिए भने पुन राप्ती बबई क्याम्पसमा अध्यनरत विद्यार्थी थिए ।
बुधबार बिहान ६ बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बिबेक पुनले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराहीको सर्रा चोक नजिकै सडकमा पल्टिएको थियो । मोटरसाइकल पल्टिएर सडकमा लडेका दुई जनालाई घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको त्रिबेणी गाउँपालिकाको बा २ झ ३६५२ नम्बरको बोलेरो जीपले किचेको थियो ।
गाउँपालिकाको गाडी चालक त्रिवेणी –२ का २९ वर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले पनि सहमति पछि पीडित पक्षले शब बुझ्न राजी भएको जानकारी दिए । सहमति अनुरुप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएका दुई शबको पोष्टमार्टम सुरु भएको छ ।
यो पनि : २ दिन अघि मात्रै रोल्पाबाट बसाइ सरी दाङ झरेका थिए दुर्घटनामा ज्यान गुमाएका नेत्र भण्डारी