प्रेमबहादुर राम्जा, हापुरे, फागुन ७ । नेकपा एमाले दाङले पालिकास्तरमा पुगेर पार्टी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
एमाले दाङको स्कुल विभागको आयोजना र स्थानीय पालिका कमिटीको ब्यबस्थापनमा पार्टी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
प्रशिक्षण कार्यक्रम बंगलाचुली, शान्तिनगर र बबई गाउँ कमिटीले गरेका छन् । स्कुल विभागले स्थानीय कमिटीलाई प्रशिक्षक उपलब्ध गराउने गरेको स्कुल विभाग संयोजक बिबेक श्रेष्ठले बताए ।
पार्टीको संगठन निर्माण, लेखा ब्यबस्थापन, सदस्यता ब्यबस्थापन र स्थानीय रुपमा पार्टीलाई थप बलियो बनाउनका लागि आगामी रणनीति तय गर्ने र मिसन २०८४ लाई सफल बनाउन समेत पार्टी प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिने गरिएको श्रेष्ठले जानकारी दिए ।
एमालेको तीन दिनसम्म घोराहीमा भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई बस्तिस्तरमा पु¥याउने उद्देश्यका साथ दोस्रो चरणमा पालिकास्तरमा पुग्ने लक्ष्य राखिएको नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले बताए ।
यसपछिको तेस्रो चरणमा वडास्तरमा समेत पुग्ने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
पार्टी प्रशिक्षण कार्यक्रम गढवामा फागुन ७ र ८ गते तय गरिएको छ । त्यसपछि तुलसीपुर, दंगीशरण, घोराही, राप्ती, लमही र राजपुरमा तय गरिएको छ ।
फागुन महिनाभित्र जिल्लाका सबै स्थानीय कमिटीलाई प्रशिक्षण दिने लक्ष्य राखिएको नेकपा एमाले दाङका सचिब मनोहर बुढाथोकीले बताए ।