२०८० फाल्गुन १२ गते शनिवार

नेतृत्वमा उमेरको हदबन्दी हटाइने एकीकृत समाजवादीको तयारी

काठमाडौं,माघ १४ । नेकपा (एकीकृत समाजवादी)ले दोस्रो राष्ट्रिय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको विधान हेरफेर गर्न भोलिदेखि काठमाडौंमा हुने परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव सङ्कलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ ।

आइतवारदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने उक्त परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बैठकस्थल सजाइएको छ भने प्रतिनिधिको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।

बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको बैठकको लोगो सार्वजनिक गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *