काठमाडौं ,पुस २१ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको बैठक आइतबार १ बजेसम्मलाई सारिएको जानकारी दिए।
उनका अनुसार मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।
राष्ट्रिय सभाको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद कायमै रहेको छ। दलभित्रका आकांक्षीबीच टिकटका लागि दौडधुप पनि जारी छ।
कांग्रेसको भक्तपुर- २ को क्षेत्रीय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा उम्मेदवारका लागि संसदीय बोर्डमा छलफल हुने भएपनि अन्तिममा सभापति शेरबहादुर देउवाले कोटको खल्तिबाट नाम निकाल्ने भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको दाबी गर्दै आएका छन्।
संस्थापन इत्तर समूहले पार्टी बैठकमा आफ्नो तर्फबाट ४/५ जना उम्मेदवारको दाबी प्रस्तुत गर्ने तयारी गरेको छ। यहि बीचमा राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान माओवादी केन्द्र र कांग्रेस लचिलो बन्दा गठबन्धनभित्र अविश्वास पैदा भएको छ।
सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय निरुपणमा सहयोग जुटाउने उद्देश्यले एमालेसँग पनि चुनावमा मिलेर जाने प्रस्ताव गरेका थिए। जसमा कांग्रेस र जसपाले मौन समर्थन जनाएका छन् भने, एकीकृत समाजवादीले आपत्ति जनाएको छ। त्यसकै लागि केही दिनयता नेताहरुबीच लगातार छलफल भइरहेको छ।