दाङ, पुस १६। बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र मृत अवस्थामा फेला परेका घोराहीका एक ब्यक्तिको गोली हानेर हत्या भएको प्रहरीले बताएको छ ।
घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको शब शुक्रबार बंगलाचुली गाउँपालिका – ४ स्थित कोइला खानीको सुरुङभित्र शब फेला परेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले मृतकको छातिमा गोलीको घाउ देखिएको जानकारी दिए ।
छातिमा गोली प्रहार भएको घाउ देखिएको भएपनि पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका – ४ गदारीका ४३ बर्षीय शेरबहादुर कँवर, उनकी ३५ बर्षीया श्रीमती दीपा कवँर र दीपाका भाइ २९ बर्षीय तिलक पुनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
कँवर दम्पत्ति घटना घटाएर भारतको नयाँ दिल्ली पुगेको र भारतिय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला ल्याइएको डिएसपी मल्लले जानकारी दिए ।
‘अनैतिक सम्बन्धका कारण शिवराजको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी मल्लले भने ।
शिवराजको हत्यामा प्रयोग भएको बन्दुक भने हालसम्म फेला नपरेको पनि प्रहरीले बताएको छ । उनको हत्यामा अरुको संलग्नता छ कि भनेर थप अनुसन्धान पनि भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएको कुरा प्रहरीले बताएको छ ।