२०८१ मङ्सिर १७ गते सोमवार

डेढ करोड बढी मूल्यका खसी-बाख्रा पालिरहेका वडाध्यक्ष

रोल्पा, कात्तिक २२ । रोल्पाका ४९ बर्षीय लोकमान वली गंगादेब गाउँपालिका – ३ का वडाध्यक्ष हुन । गत स्थानीय तहको निर्वाचनमा उनले नेकपा माओबादी केन्द्रको तर्फबाट निर्वाचन जितेका हुन ।


तर, उनको परिचय वडाध्यक्ष भन्दापनि एक सफल बाख्रा पालक किसानका रुपमा स्थापित छ । जस्को बाख्रा फर्ममा यतिखेर डेढ करोड भन्दा बढी मूल्यका खसी र बाख्राहरु छन् । नश्ल सुधार तथा सञ्तान उत्पादनका लागि पालिका एक दर्जन बढी शुद्ध बोयर जातका बोका मात्रै छन् । ती अधिकाँसको मूल्य चानचुन एक लाख जति पर्छ ।

केहीको मूल्य साढे तीन लाख भन्दा बढी पर्ने लोकमानले बताए । ‘मैले एकै साथ यि सबै बेच्न खोजे कम्तिमा डेढ करोड मुल्य सम्मका खसी बाख्रा अहिले मेरो फर्ममा छन्,’ लोकमानले भने । हाल उनको खोरमा साढे तीन सय जति खसी बाख्रा छन् । ब्याडका लागि पालिएका बोका, खसी, बाख्रा र पाठा पाठी छन् । आँफु बस्ने घरको सम्मुख लामो र ठूलो आधुनिक काठबाट निर्मित खोर छन् । गर्भिनी बाख्रा, हुर्किरहेका पाठा, बोका र खसी यी सबैलाई राख्ने अलग – अलग खोरहरु छन् ।


दशैं पहिले लोकमानको खोरमा अझ धेरै संख्यामा खसी बाख्रा थिए । यो बीचमा चार लाख जतिको खसी, बोका बेचेको बताए । लोकमान मासुको लागि भन्दापनि ब्रिड अर्थात नश्ल सुधारका लागि पाठा पाठी बेच्ने गर्छन । त्यसैले दशैं तिहार जस्ता पर्वहरुमा खसी बोका बेच्नु उनको उदेश्य होइन । बेच्नै परे छनौट गरी मात्रै बेच्ने गर्छन ।


‘मैले मासुको लागि हैन सञ्तान उत्पादनका लागि बेच्ने गर्छु र त्यसरी बेच्दा आठ सय रुपैंया भन्दा माथि र बाइस सय रुपैंया केजीसम्म लिन्छु,’ लोकमानले भने ‘ रोल्पा, रुकुम, सल्यान, जाटरकोट, अर्घाखाँची लगाएतका जिल्लाहरुमा म बाटै बिडरका लागि पाठा पाठी किसानले लैजाने गर्छन ।’


मित्तल क्रस, बारबेरी क्रस र पूर्ण रुपमा बोयर जातका बाख्रा उनले पाल्दै आएको बताए । सालिन्दा एक सयदेखि डेढ सय पाठा पाठी बेच्छन् । दाना पानी लगाएत खर्च कटाएर बर्षमा दशदेखि १५ लाख खुद बचत गर्दै आएको लोकमानले बताए ।


लोकमानले बिगत २७ बर्षदेखि ब्यबसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । फर्म दर्ता गरेको भने नौं बर्ष मात्रै भएको छ । २०७२ सालमा ‘ओली बाख्रा पालन फर्म’ दर्ता गरेपछि यो परिवारको मुख्य पेशा नै बाख्रा पालन बनेको हो । लोकमानले यहाँ सम्म आइ पुग्न धेरै मेहनत गरेका छन् ।


बाख्रा पालन सम्बन्धि उनको बिगत नियाल्दा कुनै चलचित्रको कथा भन्दा फरक छैन । करिब १७ बर्षको छँदा २९ बर्ष पहिले लोकमान भारतको राजस्थानमा दाँत (डेन्टल) सम्बन्धि १६ महिने काम सिक्न भनेर गएका थिए । त्यहाँ छँदा एउटा आधनुनिक बाख्रा फर्मले लोकमानको ध्यान खिच्यो ।

त्यसैले दाँतको काम सिक्दै त्यो बाख्राको फर्ममा उनले काम गर्न थाले । खर्च टार्नपनि सहज भयो । बिस्तारै लोकमानको रुची बाख्रा पालन तर्फ बढ्दै गयो । त्यही भएर बढी समय बाख्रा फर्ममै बिताउन थाले । उनी कल्पिन्थे, आफ्नै ठाउँमा यसरी नै बाख्रा पाल्न पाए गजबै हुन्थ्यो । राम्रो कामको लागि आँटेर मेहनत गर्दै गए असंभव के छ र ? दूई बर्ष जति काम गरि सकेपछि लोकमानलाई अब आँफैले आफ्नै ठाउँमा गइ ब्यबसायिक रुपमा बाख्रा पाल्न सक्छु भन्ने विश्वास पैदा भयो । उनले काम गर्दै ब्यबहारिक ज्ञान जो हासिल गरेका थिए ।

त्यही विश्वासका साथ २७ बर्ष पहिले २०५३ सालमा आँफैले काम गर्ने फर्मबाट किनेर नयाँ प्रजातिका एक जोडी पाठा पाठी किनेर लोकमानले रोल्पास्थित आफ्नो घरमा ल्याए । घरमा अरु बाख्रा पनि छँदै थिए । भारतबाट ल्याएको बाख्राले सञ्तान दिन थालेपछि घरमा अन्य बाख्रा हटाउँदै गए । केही बर्षको अन्तरालमै त्यही एउटा माउ बाट सञ्तान बृद्धि हुँदै ५३ वटा पुगि सकेका थिए ।


एउटा बाट बृद्धि हुँदै ५३ वटा पुगे पछि लोकमानको विश्वास बढ्यो । लोकमानको मनमा थप मेहनत गर्ने र गुणात्मक रुपमा बाख्रा बृद्धि गर्दै जाने सपना पलायो । तर, त्यही बीचमा तत्कालिन माओबादी पक्ष र सरकार बीचको सशस्त्र युद्ध चर्किदै गयो । जस्ले लोकमानको कल्पना र सपनामा पनि केही बाधा अड्चन थप्यो । तै, उनले हरेश खाएनन् । क्रमिक रुपमा बाख्राको संख्या बढाउँदै लगे । २०६३ पछि जब नेपालमा शान्ति प्रक्रिया सुरु भयो त्यसपछि फेरि उनले राजास्थानमा देखेको सपना सार्थक पार्न अभियानमा जुट्न थाले ।


बख्राका आधुनिक खोरहरु बनाउन थाले । बाख्राको संख्या बढाउँदै लगे । एक सय हाराहारी पुगेपछि कमाई पनि त्यही रुपमा हुन थाल्यो । ७० को दशकमा आइ पुग्दासम्म मुलकमा राजनीतिक रुपमापनि धेरै परिवर्तनहरु भइ सकेको थियो । आफ्नै पार्टीका आँकाश जमिनका सपना बाँड्ने नेताहरुका गतिबिधिपनि नजिकबाट नियाल्न अबशर पाए । नेताहरु बिचलनमा परेका, आपसी स्वार्थका लागि चोइटिएका, शहर पसेपछि गाउँ भुलेका ,भ्रष्टचारमा डुबेका खबरहरु सुन्दा दिकदार मान्थे ।

एक सफल राजनीतिज्ञ हुन कुनैपनि सफल पेशामा जोडिनु उपयुक्त हो भन्ने निष्कर्षमा उनी पुगे । जनता मात्रै हैन नेतापनि अनिवार्य श्रममा जोडिनु पर्छ भन्ने राजनीतिबाटै सिकेका थिए । उनले त्यो ब्यबहारमा उतार्ने निधो गरे । २०७२ सालमा बाख्रा फर्म दर्ता गर्नुको कारण त्यही थियो ।


‘एउटा सफल पेशा ब्यबसायमा लागेको नेताले दबमासी वा अनियमितता गर्दैन,’ लोकमानले भने ‘जो आफ्नै पौरखले बाँचेको हुँन्छ उ आँफै अनुसाशित हुन्छ ।’ त्यसैले त आजपनि उनी कृषि पेशा होस वा अन्य कुनैपनि पेशा ब्यबसाय गरि रहेका सफल ब्यक्तिले राजनीति गर्दा उपयुक्त हो भन्ने ठान्छन् ।


‘समाजको अगुवा हुँ वा नेता हुँ भन्ने ब्यक्तिले केही गर्नु नपर्ने, भाषण र फुर्ती मात्रै लगाउने अनि जनतालाई मात्रै मेहनत गर श्रम गर भन्नु नसुहाउने कुरा हो,’ वडाध्यक्ष लोकमानले भने ‘ आँफैले केही नगर्ने नेतालाई जनताले संधै विश्वास गरि रहनु पर्छ भन्ने छैन र जनताले मात्रै काम गरि देश संबृद्ध बन्न संभव हुँदैन ।’


आँफुलाई समाज र देशका लिडर हौं भन्नेहरुले आफ्नो रुची र क्षमता अनुसार कुनैपनि पेशा ब्यबसायमा लागेर प्रमाणित गरे मात्रै समाजमा विश्वास आर्जन गर्न सजिलो हुने उनी ठान्छन् ।


‘जति धेरै ठूलो पदमा पुग्यो उति धेरै जिम्मेवारीका साथ कतब्र्य निर्वाह गर्नु पर्छ भन्ने मलाई लाग्छ,’ लोकमानले भने ‘ त्यही सोचले मैले काम गरि रहेको छु । वडाध्यक्ष हुनु भन्दा पहिला मेरो फर्ममा डेढ सय बाख्रा थिए र म वडाध्यक्ष भएपछि हाल फर्म बृद्धि गर्दै साढे तीन सय भन्दा बढी बाख्रा पु¥याएको छु ।’

भविश्यमा आठ सयसम्म बाख्रा पु¥याउने योजना रहेको उनले सुनाए । अरुले पनि राम्रो कामको अनुशरण गर्दै कुनै न कुनै ब्यबसाय गर्नेमा उनी विश्वस्त छन् । अहिले पनि आसपासमा चार जना जतिले आफ्नो अनुशरण गर्दै ब्यबसायिक रुपमा ठूला बाख्रा फर्महरु संचालन गरिरहेको देख्दा मनमा सञ्तोष हुने उनले बताए ।


आफ्नो ब्यबसायमा मात्रै हैन, वडाध्यक्ष लोकमान आफ्नो कार्यालय प्रतिपनि उत्तिकै जिम्मेवार छन् । ‘म विहान नौं बजे नै वडा कार्यालय पुगि सक्छु र बेलुका पाँच बजे पछि फर्कन्छु,’ उनले भने ‘ गर्न मिल्ने अनि गर्न संभव हुने काम भए कसैको कामपनि रोक्दिन र नमिल्ने काम रहेछ भने म जति भनसुन गरेपनि गर्दै गर्दिन ।’ फाल्तु कुरा र गफ चुटेर कतै समय ब्यथित गर्नु भन्दा आँफु घरमा आएर बाख्रा फर्ममा काम गर्ने गरेको उनले बताए ।

यहाँ सम्म आइपुग्न लोकमानले ठूलो मेहनत परेको छ । बाख्रा हेर्न कै लागि अरु सुत्दा आँफै जागै बस्ने गरेको अनुभूति साटे । ‘म दिनमा दुई तीन घन्टा मात्रै सुत्छु,’ उनले भने ‘ कहिले त रातभर जागै बसी बाख्राको स्याहार गर्छु ।’ साढे तीन सय बढी बाख्रा पाल्दै आएका हुँदा फर्ममा दैनिक जस्तो माउले नयाँ पाठा पाठीलाई जन्म दिइ रहेका हुन्छन् । कति रातिमा जन्मिन्छन् । रातिमा उनीहरुको रेखदेख र स्याहार नगरे च्यापिएर दाबिएर मर्न सक्ने खतरा रहन्छ । ‘कतिले बच्चा जन्माउन नसक्ने अवस्था आउँछ,’ उनले भने ‘ काम गर्दै जाँदाको अनुभवले त्यस्तो बेला म काम लाग्छु ।’


सामान्ने अवस्थामा पनि बिहान चार बजे उठेर बिहान साढे आठ बजेसम्म लोकमान लगातार बाख्राको रेखदेख र स्याहारमै समय बिताउने गर्छन । उनीहरुलाई दाना पानीको प्रबन्ध गर्छन । कुनै रोगको लक्षण भए त्यही अनुसार उपचार थाल्छन् ।


बिहान चार बजेदेखि साढे आठ बजेसम्म र बेलुकी ६ बजेदेखि राति १२ वा त्यो भन्दा बढी समयसम्म दैनिक आँफुले फर्ममा बाख्राको हेरचाहमा राउन्ड लगाउने गरेको लोकमानले बताए । यो काममा बुवा, आमाका साथै लोकमानलाई उनकी श्रीमति रिता र भेट्नरी पढेका कान्छो छोरा युवराजले पनि सघाउँछन् ।


लोकमानको परिवारमा सबैले मिलेर बाख्रा फर्ममा काम गर्छन । छोरी सृष्टि र छोरा प्रदीप काठमाडौंमा अध्यनरत छन।
घर परिवार बाहेक लोकमाले बाख्रा फर्मको रेखदेखका लागि थप पाँच जनालाई रोजगारी दिएका छन् । ‘पार्ट टाइम काम गर्ने थप चार जना छन्,’ उनले भने ‘दुई जना बाख्राका लागि घाँस ल्याउँछन् भने अन्यले तीन जनाले म नुहँदा खोरमा दिनभर रेखदेख गर्छन ।’ खाना, खाजा र कपडासमेत दिएर पार्ट टाइमरलाई मासिक दश हजार र फूल टाइमरलाई त्यसको झन्डै दोब्बर तलब दिने गरेको उनले बताए ।


‘म वडाध्यक्ष भनेको पाँच बर्षको लागि मात्रै हो, त्यसपछि के गर्ने भन्ने बिकल्पको रुपमा मैले यो ब्यबसायलाई बिस्तार गर्दै लगेको हुँ,’ लोकमानले भने ‘ मैले ब्यबसाय गरि राखे भने जीवन भर आँफु र घर परिवारलाई आत्मनिर्भर बनाउन सक्छु भन्ने लाग्छ । अर्को तर्फ आफ्नो सिको गर्दै जिल्लामै आसपासमा ब्यबसायिक बाख्रा पालन गर्नेको संख्या थपिदै गएको देख्दा खुसी लाग्छ ।’
रोल्पाका साथै जिल्ला बाहिरका बाख्रा पालक किसानले समेत आँफु कहाँ बाख्रा पालन सम्बन्धि अबलोकन गर्न, सोधपुछ तथा अध्यनगर्न समेत आउने गरेको लोकमानले बताए ।


हालसम्म पटक ÷ पटक गरि कृषि बिकास बैंकमा ४५ लाख रुपैंया ऋण लिएको बताउने लोकमानको फर्ममा हाल खोरमा मात्रै एक करोड जति खर्चिएको बताए । केही बर्ष पहिले कृषि ज्ञान केन्द्रले दुई लाख अनुदान बाहेक उनले हालसम्म कुनै पुरस्कार पनि नपाएको बताए । अनुदान र पुरस्कारको पछि आँफु कहिलै नलागेको उनको भनाई छ ।


बाख्रा पाल्नका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाको एउटा वन नै बार्षिक ३२ लाख तिर्ने सर्तमा घाँसका लागि पाँच बर्षको लागि लिएका छन् । जिल्लाकै त्रिबेणी गाउँपालिकाका बाटपनि मकै, जौं र घुरो(घाँस) किनेर ल्याउने गर्छन । त्यो बाहेक लोकमानले आफ्नै घर वरपरका काल्लाहरुमा बिभिन्न चार प्रजातिका बाख्राका लागि घाँसहरु लगाएको बताए ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *