तुलसीपुर ,कात्तिक २२ । तुलसीपुर मेट्रो कलेजले बेइजिङ्ग भाषा तथा संस्कृति विश्वविद्यालयको सहकार्यमा स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसै शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी भर्ना खुल्ला गरिएको कलेजका प्रमुख बसन्त आचार्यले जानकारी दिए । स्नातक तहको कार्यक्रम चार वर्षको हुने र २ वर्ष मेट्रो कलेजमा अध्ययन गर्ने अनि बाँकी दुई वर्ष बेइजिङ्ग विश्वविद्यालयमा अध्यापन हुने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए ।
कलेज प्रमुख आचार्यका अनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको विटिसिएसओएल कार्यक्रम सञ्चालन हुन लागेको हो । ‘आठ सेमेस्टरमा सञ्चालन हुने कार्यक्रमको पहिलो र दोस्रो सेमेस्टर मेट्रो कलेजमा सञ्चालन हुनेछ भने तेस्रो देखि छैटौसम्म चिनिया विश्वविद्यालयमा र अन्तिमका दुई सेमेस्टर मेट्रो कलेजमै सञ्चालन हुनेछ,’ कलेज प्रमुख आचार्यले भने ।’
चारवर्षे कार्यक्रममा चिनिया भाषाका साथै विद्यार्थीको अभिरुचि अनुसार मानविकी संकायका विभिन्न विषयको अध्यापन हुनेछ । सबै विषयहरु विद्यार्थीले चिनिया भाषामा नै अध्ययन गर्नुपर्नेछ । तुलसीपुर मेट्रो कलेजमा अध्ययन गर्दा सामान्य शुल्क लागेपनि चिनिया विश्वविद्यालयमा छात्रावास सुविधा सहित पूर्ण छात्रवृत्तिमा अध्यापन हुनेछ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहयोगमा कलेजले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजमा यस अगाडी बिएएलएलबी कार्यक्रम सञ्चालनमा रहेको छ ।