दाङ, कात्तिक १९ । भूकम्पमा ज्यान गुमाएकाहरुको सामुहिक दाहासंस्कार गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – १४ का आठ जनाको ठूली भेरी नदी किनारमा सामुहिक अन्तेष्टि गरिएको हो ।
आठबिसकोटमा बिनाशकारी भूकम्पमा परि ४२ जनाको मृत्यु भएको थियो । ती मध्य केहीको शनिबार बेलुका र अन्यको आइतबार अन्तिम संस्कार गरिएको छ । मृत्यु भएका साना बालबालिकाको भने धार्मिक परम्परा अनुसार गाउँ ठाउँमै अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन् ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका – १ च्युरी गाउँका १३ जनाको पनि सामुहिक अन्तेष्टि गरिएको छ। स्थानीय नलगाड खोला किनारमा उनीहरुको सामुहिक दाहसंस्कार गरिएको हो।
शुक्रबार रातिको भूकम्पमा नलगाड नगरापलिका वडा नम्बर १७ जनाको मृत्यु भएकोमा १३ जना च्युरी गाउँका थिए ।
च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको मृत्यु भएको थियो। सामुहिक अन्तेष्टिको दृष्य निकै हृयदविदारक बन्न पुगेको रुकुम पश्चिमका महेश पुनले जानकारी दिए ।
उनका अनुसार पुरै गाउँले नै मलामी गएका थिए । ‘ यो तिहारको बेलामा शब र मलामीको लाम सबैका आँखा आँशुले भरिएका थिए ,’ उनले भने ‘ तिहारको उत्साहको समयमा गाउँमा हरिया बाँस काट्नु र तिहारको लागि भनेर जोगाएका माला शबमा चढाउन उन्नु हाम्रो नियती बनेको छ ।’
उनले घर भित्र कोही पस्न नसकेको र चिसोमा रातभर खुल्ला ठाउँमा रात गुजार्न बाँचेकाहरु बाध्य रहेको बताए ।
त्रिपालसमेत उपलब्ध नगराइएको तथा च्यापिए मरेका पशु चौपायासमेत निकाल्न नसकिएको उनले जानकारी दिए ।