काठमाडौं,कात्तिक १८ । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाइ इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ।
भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलाएन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले व्यहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
उनका अनुसार शनिबार विहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्ने छ।
‘रुकुम पश्चिम र जाजरकोटमा उडान भर्नका लागि चौरजहारीमा एयरपोर्ट छ। यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलायन्सको ट्विनअटरका लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएका हौं,’ उनले भने, ‘उद्धारका लागि होलिकोप्टर जहाँ पनि जानसक्छ, त्यसको सबै खर्च निगमले व्यहोर्छ।’
हवाइ भाडामा सबैभन्दा धेरै खर्च इन्धनमा हुन्छ। हवाइ भाडाको करिब ६० प्रतिशत खर्च इन्धनमा हुने भएकाले निगमको निर्णयले उद्धार कार्यमा सहजता हुनेछ।