२०८० चैत्र १६ गते शुक्रवार

काठ मिलमा आगलागी, लाखौको क्षति


दाङ, बैशाख २४ ।
दाङको टरिगाउँ एयरपोर्ट नजिकैको काठ मिलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित ३५ बर्षीय ऊबहादुर चौधरीको काठ मिलमा गएराति भएको आगलागीबाट लाखौको काठ, काठ चिर्न प्रयोग हुने औजार, एउटा मोटरसाईकल, दुईवटा साईकललगायतका सामाग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट चौधरीको रा २ प ८४०८ नम्बरको मोटरसाईकल जलेर ध्वस्त भएको छ । अग्नीपीडित चौधरीका अनुसार एउटा बजाजको १५० सिसीको पल्सर मोटरसाईकल, दुईवटा साईकल, काठ चिर्न प्रयोग हुने चिरान मेसिन, खराद मेसिन, साईजर, कम्प्रेसर, कटर, गेलेन्डरलगायतका मेसिन जलेर नष्ट भएको छ ।

त्यसैगरी बिक्री गर्नको लागि तयारी अवस्थामा बनाएर राखिएका बक्स पलङ, सोफासेट, किचेन¥याकलगायत लाखौंको काठ पनि जलेर नष्ट भएको छ । चौधरीले गएराति सवा १२ बजेतिर छिमेकीले खबर गरेपछि उठेर हेर्दा स्टोर रुमबाट आफू सुतेको घरसम्म आगोको लप्का देख्दा होसहवास उडेको बताए ।

चौधरीसँगै सटेको पक्की दुईतले घरका समेत झ्यालहरुसमेत जलेर नष्ट भएका छन् । आगो लागे लगत्तै गाउँले र छिमेकीलाई हारगुहार गरेर आगो निभाउन प्रयास गरेको चौधरीले बताए । ‘हामीसँग पानी नै थिएन, हामीले प्रयास गर्दा पनि केही उपाय चलेन,’ चौधरीले भने ‘केही बेरपछि नजिकैको गौतम वाटर सप्लायर्सले दुई ट्याङ्कर पानी ल्याएपछि त्यसले आगो निभाउन सहज भयो ।’

उनले उपमहानगरपालिकाको दमकल भने ढिला गरी आइपुगेको बताए । आगो लागेको दुई घण्टापछि मात्रै दमकल आइपुगेपछि बिहान सवा २ बजेतिर मात्रै आगो निभाउन सम्भव भएको चौधरीले बताए । नगरपालिकाबाट एयरपोर्टको दुरी झन्डै तीन किलोमिटरको दूरीमा पर्छ । तर, प्रहरी भने आगो लागेको केहीबेरमै घटनास्थल पुगेको चौधरीले बताए ।

आगलागीबाट नजिकै रहेको फ्लोर मिल भने जोगिएको छ । ‘सटेको बाँसघारीमा आगो सल्किसकेको थियो, तर त्यति नै बेला स्थानीयबासीले खुबै सघाए । ट्याङ्करको पानी हाले र भाग्यले ठिक त्यहीबेला दमकल पनि आइपुग्यो र फ्लोर मिलको गोदाममा आगो सल्किन पाएन’ एक स्थानीयले भने । ‘आगलागीबाट मेरो अन्दाजी ३५ देखि ४० लाखसम्म क्षति भएको छ’ चौधरीले भने ।

के कारणले आगलागी भएको हो भन्ने कुराको भने एकीन भइ सकेको छैन । तर, पीडित चौधरीले भने रिइसिवीका कारण कसैले आफ्नो काठ मिलमा आगो लगाइ दिएको बताए । ‘विद्युत सर्ट भएर आगो लागेको हैन, किनकि आगो लागि रहदा घरमा बत्ती थियो । विद्युत सर्ट भएको भए सबैभन्दा पहिला बत्ती जानुपर्ने हो’ चौधरीले भने ‘आगो गोदामबाट सल्केको देखिन्थ्यो । कोही दुष्टले आगो लगाइ दिएजस्तो छ।’ ईलाका प्रहरी कार्यालय तुलसीपुरले भने घटनाबारे अनुसन्धान गर्न बाँकी नै रहेको बताएको छ ।

उद्योग वाणिज्य संघका पदाधिकारीद्वारा अवलोकन

यसैबीच अग्नी पीडित चौधरीको काठ मिलमा पुगेर तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले क्षतिको अवलोकन गरेका छन् । मंगलबार बिहान संघका अध्यक्ष वीरवहादुर रावत, सल्लाहाकार विमल रिजाल लगायतको टोलीले घटनास्थल पुगेर क्षतिको अवलोकन गरेको हो । क्षतिको अवलोकनपछि संघका पदाधिकारीले पीडित चौधरीले संघमा निवेदन दिन आग्रह गर्दै प्रचलित नियम अनुसार राहत उपलब्ध गराउने बताएका थिए ।

त्यस्तै उनीहरुले विमा कम्पनीसँग क्षतिपूर्ति भराउनका लागि समेत पहल गर्ने आश्वासन दिएका थिए । सोमबार दिउँसो मात्रै शान्तिनगर गाउँपालिकामा आगलागी हुँदा एउटै परिवारका तीन घर जलेर नष्ट भएका थिए । गर्मी बढेसँगै आगलागीका घटनाहरुमा बृद्धि हुन थालेको छ । आवश्यक सावधानी अपनाउन नसक्दा शान्तिनगरका तीन घरमा आगलागी भएको खुल्न आएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *