तुलसीपुर, असोज १९ । घोराहीको सौंडिकुलामा झन्डै २० करोड लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल संचालनको तयारीमा रहेको छ ।
घोराही उपमहानगरपालिका – ८ सौंडिकुलामा दुई युवा विजय रावत र चेतन जंग रानाले मिलेर निर्माण गरेको ‘भिएफएक्स सिनेमाज’ नामक यो सिनेमा हल जिल्लाको पहिलो मल्टिप्लेक्स सिनेमा हल भएको दाबी लगानी कर्ताहरुको रहेको छ ।
यो नयाँ सिनेमा हल असोज २६ गते बिहानदेखि ब्यबसायिक रुपमा पर्दशन सुरु गर्ने भएको छ ।
पहिलो दिन नेपाली चलचित्र ‘परदेशी २’ प्रदर्शन गर्न थालिएको छ । दुई हलहरु रहेका कारण एकै सथा दुई सिनेमाहरु पर्दशन गर्न सकिने छ । दुई वटा स्क्रिनसहित चार सय १२ सिट क्षमताका सिटहरु छन् ।
यहाँ एउटा टिकेटको रेट साढे तीन सयदेखि साढे पाँच सयसम्म निर्धारण गरिएको छ ।
एउटा हलमा दुइ सय ४७ र अर्कौ हलमा एक सय ६५ सिटहरु रहेको र ती मध्य दुबै हलमा सुतेर हेर्न मिल्ने ३६ सिटहरु रहेका छन् । कोही दर्शकले सुतेर सिनेमा हेर्न चाहेमा त्यो सिटको प्रति ब्यक्ति साढे पाँच सय शूल्क तिर्नु पर्ने छ ।
अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ ।
ऋब यहाँ थ्रिडीसहित सबै सिनेमा हेर्न पाइने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ८ सौंडिकुला स्थित घोराही बजारदेखि झन्डै ८ किलोमिटर पश्चिम र तुलसीपुरदेखि झन्डै १६ किलोमिटर पूर्वमा सिनेमाहल निर्माण गरिएको छ ।
कोरोना कालमै झन्डै तीन बर्ष पहिले नै सिनेमा हल निर्माणको काम उनीहरुले सुरु गरेका थिए ।
आठ कठ्ठा जग्गाको क्षेत्रफलमा सिनेमा हल निर्माण गरिएको र जग्गासहितको लागनी जोड्दा झन्डै २० करोड लगानी पुगेको हलका प्रबन्ध निर्देशक बिजय रावतले जानकारी दिए ।