२०७७ कार्तिक ९ गते आइतवार

तुलसीपुरमा युवाहरुले चलाए नमुना संसद


तुलसीपुर, बैशाख १७।

घडिमा १२ वज्ने वित्तिकै सतर्कताको घण्टी वज्यो ।

छातीमा छड्के गरी मर्यादापालक लेखिएको कपडा भिरेर एक व्यक्ति आएर माइकमा जोडसँग कराए
‘सम्माननीय राष्ट्रपति ज्यू, सम्माननीय सभामुख ज्यू र माननीय सभासद्ज्यू’

यति भन्नासाथ उनले वोलाएकै सबै जना अगाडि गए । उनीहरुका पछि पछि मर्यादापालक हिडिरहेका थिए । उनीहरु अगाडि पुगेपछि सुरु भयो राष्ट्रिय गानको धुन र सबै त्यसमा सरिक भए । राष्ट्रिय गान सकिए लगत्तै सभामुख वनेका नवराज घिमिरेले सदनको कारवाही सुरु भएको जानकारी दिए ‘सम्माननीय राष्ट्रपतिज्यू एवम् माननीय सभासद् ज्युहरु आजको वैठकको कारवाही सुरु हुन्छ’ उनले यति भनेर राष्ट्रपति वनेका मदन भुषाललाई नमुना युवा संसदको युवा विकासका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि समय दिए ।

संसदको झल्को दिने गरी तुलसीपुरका युवाहरुले सोमवार संसदीय अभ्यास गरे । उनीहरु मध्ये कोही सभामुख वने, कोही राष्ट्रपति, कोही प्रधानमन्त्री त कोही विभिन्न मन्त्रालयका मन्त्री वने । सत्ता पक्ष र विपक्षको फरक फरक ठाउँमा वसेका उनीहरुले कुशलतापूर्वक आफ्नो भुमिका वहन गरे । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसमाथिको छलफल सुरु भयो । छलफल अन्तर्गत शुन्य समयमा वोल्दै प्रतिपक्षी दलकी सभासद इशा वलीले नीति तथा कार्यक्रम जनमुखी नभएको भन्दै युवालाई रोजगार प्रदान गर्नेभन्दा पनि विदेश पठाउने कुरामा जोड दिइएको प्रति आपत्ति प्रकट गरिन् । ‘सभामुख महोदय राम्रो पढेको मान्छे विदेश जानैपर्ने कस्तो खालको शिक्षा हामीले दिइरहेका छौ म प्रश्न चाहन्छु’ उनले भनिन् । अर्का प्रतिपक्ष दलका सभासद सुशिला केसीले युवाहरुलाई सृजनशिल र उ्रद्यमशिल काममा लगाउने कुरालाई नीति तथा कार्यक्रमले छुन नसकेकोमा आलोचना गरिन् ।

नीति तथा कार्यक्रमका वारेमा वोल्दै सत्ता पक्षका सभासदहरुले भने त्यसको वचाउँ गरेका थिए । सत्ता पक्षका सभासद सविना डाँगीले युवाहरुलाई रोजगार प्रदान गर्ने कुरामा नीति तथा कार्यक्रम निकै प्रभावकारी भएको वताइन् । उनले उद्यमशिलता सृजना गर्नका लागि सरकारले ल्याएका नीति निकै फलदायी भएको वताइन् ।

सत्ता पक्ष र प्रतिपक्षका सभासदहरुले नीति तथा कार्यक्रममा गरेको टिप्पणी पश्चात सभामुखले पारितका लागि प्रस्ताव गरे । ‘नीति तथा कार्यक्रमको पक्षमा हुने सभासद्ज्यूहरुले हुन्छ भन्नुहोला र विपक्षमा हुनेहरुले हुन्न भन्नुहोला ’ उनले प्रस्ताव गरे पश्चात हुन्छ भन्नेमा ध्वनी मत भएको उनले नीति तथा कार्यक्रम पारित भएको जानकारी दिए । सभामुखले जानकारी दिए लगत्तै राष्ट्रपतिलाई त्यहाँबाट ससम्मान विदाई गरियो ।

राष्ट्रपतिको विदाइसँगै नीति तथा कार्यक्रममा विश्वासको मतका लागि प्रधानमन्त्री वनेका टेकवहादुर केसीले आफ्ना कुरा राखे । त्यसपछि प्रतिपक्षीको विरोधका वावजुद ध्वनी मतले नीति तथा कार्यक्रम पारित भयो ।

नीति तथा कार्यक्रम पश्चात शिक्षा तथा खेलकुद मन्त्री विवेक वलीले शिक्षा विधेयक संसदमा प्रस्तुत गरे । उनले प्रस्तुत गरेको विधेयक माथि वोल्दै प्रतिपक्षी सांसदहरुले त्यसलाई जनताको मुख मिठा वनाउने ललिपप भएको वताए । प्रतिपक्षका सभासद सुदन न्यौपानेले युवाका समस्यालाई नीति तथा कार्यक्रमले छुन नसकेको वताए । यसैविच प्रतिपक्षिको विरोधका वावजुद पनि ध्वनी मतले विधेयक पास भयो । युवाहरुलाई संसदीय अभ्यासका वारेमा सिकाउनका लागि गरिएको नमुना कार्यक्रम हेर्दा संसदकै झल्को दिने गर्दथ्यो ।

यसैविच नमुना युवा संसद हेरिसकेपछि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नमुना अभ्यास निकै राम्रो भएको वताए । उनले युवाले नै पारित गरेको नीतिलाई उपमहानगरपालिकाको नगर सभामा प्रस्तुत गरिने वताए । युवाले कुण्ठा आक्रोश पाल्न छाडेर सृजनशिल उद्यमशिल काममा लाग्नुपर्ने वताउँदै नगरप्रमुख पाण्डेले जागिर खोज्ने भन्दा पनि सृजना गर्ने सोच युवामा हुनुपर्ने वताए ।

युवाका सपना उपमहानगरको सपना भएको वताउँदै उनले युवाका विषयमा जस्तो सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको वताए । कार्यक्रममा शिक्षा संयोजक देवराज विक, युवा तथा खेलकुद संयोजक अमर नेपाली माइकल, युवा परिषद्का जिल्ला अध्यक्ष सुरेश रावत लगायतले मन्तव्य राखेका थिए । शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *