सल्यान, १२ बैशाख ।
सुशासनमा जनसहभागिता अभिवृद्धि गर्न सल्यानमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम शुरु भएको छ । जिल्लाको सिद्धकुमाख, कपुरकोट, त्रिवेणी, कालिमाटी र दार्मा गाउँपालिकामा यो कार्यक्रम शुरु भएको दलित विकास समाज सल्यानले जनाएको छ । यो कार्यक्रम चार वर्षसम्म सञ्चालन हुने दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए ।
बिहीबार कपुरकोट गाउँपालिकामा सुशासनमा नागरिक सहभागिता कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नागरिक र स्थानीय सरकारबीच सहभागितामूलक र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको निर्देशक पुनले जनाए । स्थानीय तहको सेवा प्रवाहमा सुधार र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि सहकार्य र नियमित संवाद गरिने कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालीले जानकारी दिए ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सुसाशन प्रवद्र्धनका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले कुनै पनि परियोजना लक्षित वर्गसम्म पुग्नुपर्ने कुरामा जोड दिदै कपुरकोट गाउँपालिकाले आफ्ना नीति, कार्यक्रम, बजेट, प्रदान गरिने सेवा र प्राप्त गर्ने प्रक्रियालगायत गुनासो सुनुवाइ र गुनासो ब्यवस्थापनका सन्दर्भमा काम गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले समाजमा पछाडी पारिएका समुदाय र वर्गका विचार र सवाललाई समेट्नुपर्ने कुरामा जोड दिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले सूचना प्रविधिको भरपुर उपयोग गरेर सुशासन कायम गर्नुपर्ने धारणा राख्दै यसका लागि गाउँपालिकाका सम्पूर्ण कर्मचारिहरु प्रतिवद्ध रहेको बताए ।
गेहेन्द्र केसीले सहजीकरण गरेको कार्यक्रममा वडा अध्यक्षहरु, विषयगत शाखा कार्यालयका प्रमुखहरु, वाल सञ्जाल, तरकारी संकलन केन्द्र, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।