दाङ,साउन ८ । रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी दाङ पछिल्लो समयमा डेंगु संक्रमणको नियन्त्रण र रोकथामको अभियानमा पनि जोडिएको छ ।
रेडक्रस सोसाइटीहरुको अन्तर्राष्ट्रिय छाता संगठन आइएफआरसिको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी दाङले जिल्लामा डेंगु रोगको संक्रमणको रोकथाम तथा नियन्त्रण अभियानको थालनी गरेको छ । यसैक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा आइतवार घोराहीमा डेंगु नियन्त्रण र रोकथाम कार्यक्रम अन्तर्गत परिचयात्मक गोष्ठि सम्पन्न गरेको छ । यो कार्यक्रम कम्तिमा तीन महिना सम्म चल्ने रेडक्रस सोसाइटी दाङले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटि दाङका सभापति मदन गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको परिचयात्मक गोष्ठि कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डम्वर कुवर, सशस्त्र प्रहरी कारागार व्यवस्थापन शाखाका प्रमुख मिनराज भट्ट, नेपाल रेडक्रस सोसाइटि दाङका निवर्तमान अध्यक्ष नारायण आचार्य लगायतका पदाधिकारीहरु, जिल्ला शिक्षा समन्वय इकाइका प्रतिनिधि, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, अटोभिलेजका प्रतिनिधि, जिल्लाका विभिन्न सन्चार माध्यमका सन्चारकर्मिहरु लगायतको उपस्थीतिमा यो कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका शाखा अधिकृत विश्राम अधिकारीले रेडक्रसले सुरु गरेको यो अभियानमा स्वास्थ्य सचेतनालाइ प्राथमिकता दिइने बताए । त्यसैगरी यो अभियान अन्तर्गत हरेक पालिकामा आफ्नो इकाइ अन्तर्गत त्यहांका महिला स्वास्थ्य स्वयमसेविका, नर्सहरुलाइ अभिमुखिकरण गरिने छ ।
हरेक पालिकामा डेंगु रोकथाम र नियन्त्रण संबन्धि सचेतनामुलक पर्चा र पम्प्लेट वितरण गरीने छ । त्यसैगरी प्रत्येक उपशाखाका एक÷एक जनालाइ अभिमुखिकरण तालिम दिएर डेंगुको संक्रमण फैलाउने एडिस जातिको लामखुट्टेका संभावित बासस्थान ध्वस्त पारी लार्भालाइ नष्ट गर्ने अभियानमा लगाइने छ । त्यसैगरी विभिन्न इलेक्ट्रोनिक्स सञ्चार माध्यममा रेडियो कार्यक्रम, जिंगल र माइकिङ समेत गरिने कार्यक्रम संयोजक अधिकारीले बताएका छन् ।
परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिंदै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले रेडक्रस सोसायिटिले विपतमा परेकाहरुको उद्धार, राहत र पुर्नस्थापन कार्यक्रममा सहयोग संगै पछिल्लो समयमा उच्च संक्रमणको जोखिममा रहेको दाङमा डेगु नियन्त्रण र रोकथाम अभियान सन्चालन गरेकोमा धन्यवाद दिएका छन् ।
साथै रेडक्रसको यो अभियानमा जिल्ला समन्वय समितिको पनि साथ र सहयोग हुने उनको अभिव्यक्ति थियो । ‘तथ्यांकमा नदेखिएपनि पछिल्लो दुईसाता यता दाङ जिल्ला डेंगु संक्रमणको उच्च जोखिममा छ, यस जिल्लाका सयौंलाइ यो रोगको संक्रमण भएको हुन सक्छ’, प्रमुख अतिथि शर्माले भने । डेंगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने भन्दै यस्ता लामखुट्टेको संभावित बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापाले रेडक्रस सोसाइटी र प्रशासन विपतको समयमा सधै साथ रहेको उल्लेख गर्दै डेंगु नियन्त्रणको अभियानमा पनि सवै निकायसंग सहकार्य गरेर प्रशासन अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डम्वर कुवरले डेंगुको संक्रमण भैसकेपछि उपचार पद्धती निकै असहज भएको भन्दै हरेक नागरीकले यस्तो संक्रमण फैलाउने लामखुट्टेको बासस्थान भत्काउन हरेक नागरीकले दिनमा पाँच मिनेट आफ्नो घरमा निगरानी गर्नुपर्ने सुझाव दिए ।
यो प्रजातिको लामखुट्टेको लार्भा सफा र जमेको पानीमा विकशित हुने भएकाले त्यस्तो स्थानको विशेष निगरानी गर्न पनि उनको आग्रह थियो । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीवन्तको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण रेडक्रस शाखा अधिकृत विश्राम अधिकारीले गरेका थिए ।
के हो ? डेंगु
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्शन कमल चन्दले डेंगु रोगको संक्रमण, संक्रमण हुने अवस्था, संक्रमित भैसकेपछिको उपचार, संक्रमणकै रोकथाम र नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा सन २००४ शालमा पहिलो पटक डेंगुको परजिवि पाइएको थियो । जापानबाट नेपाल घुम्न आएका एक जना बिदेशी नागरिकमा उक्त परजिवि पाइएपछि विस्तारै नेपालमा डेंगुको प्रकोप देखिन सुरु भएको हो । डेंगु किटजन्य रोग हो । यो रोग एडिज तथा एजिप्टाइ एल्वोविक्टर्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यद्धपि यी प्रजातिका सवै लामखुट्टे संक्रमित हुंदैनन् ।
यो प्रजातिको लामखुट्टे सुन्दर र खानदानी खालको हो । जुन हेर्दा सफा र चिटिक्क देखिन्छ, अनि सफा र जमेको पानीमा बस्दछ । यसले सुर्योदय भएको २ घण्टा पछि देखि सुर्यास्त हुनु अघि मात्र टोक्दछ । त्यसैले दिउसोको समयमा पुरा वाहुला भएको कपडा लगाउने र दिउँसो सुत्दा झुलको प्रयोग गरी सुत्ने गर्नु उपयुक्त हुन्छ । डेंगुका भाइरसहरु चार प्रकारका हुन्छन् । डि—१, डि—२, डि—३ र डि—४ । यी सवै प्रकारका भाइरस उत्तिकै संक्रामक हुन्छन् ।
डेंगुको संक्रमण एक पटक भैसकेपछि फेरी सोहि व्यक्तिलाइ दोस्रो पटक भयो भने, पहिलो पटक भन्दा दोस्रो पटक निकै गाह्रो हुन्छ । यसका मुख्य लक्षणहरुमा आंखाका गेडि दुख्ने, हाड तथा मांसपेसीहरु दुख्ने, उच्च जरो आउने, वाकवाकी लाग्ने, अत्यधिक थकान महसुस हुने तथा खानामा अरुची हुने जस्ता हुन्छन् । डेंगुको कुनै औषधि छैन, तर लक्षण अनुसार आइसियुमा राखेर पनि उपचार गर्नुपर्ने हुन सक्छ ।
डेंगु संक्रमित लामखुट्टेले टोकेका दश हजार जना मध्ये ९ हजार जनालाइ लक्षण नै देखिदैन । लक्षण देखिएका मध्ये ५ सय जनालाइ सामान्य जरोमात्र आउछ भने एक सय जनामा मात्र कम्प्लिीकेशन देखिन सक्छ । यस्तो अवस्थामा उपचारको पुर्व तयारी व्यवस्थापन नितान्त आवस्यक हुन्छ । एउटा संक्रमित लामखुट्टेले दश जना सम्मलाइ टोकेर डेंगुको संक्रमण फैलाउन सक्छ ।
गत शालको अनुमानित तथ्यांकमा दाङ जिल्लामा ५ सय ५८ वटा केशमा डेंगु पुष्टि भएको थियो । यद्धपि निजि स्वास्थ्य संस्थाको समेत तथ्यांकलाइ हेर्दा दुइ हजार चार सय ५ जनामा डेंगुको संक्रमण पुष्टि भएको अनुमान छ । अघिल्लो बर्ष डेंगुको संक्रमणका कारण एक जनाको निधन भएको थियो । तर यो बर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको तथ्यांकमा ७ जनालाइ मात्र डेंगुको संक्रमण पुष्टि भएको बताइएको छ । अन्य निजि संस्थाहरुमा केकतिलाइ डेंगु पष्टि भयो भन्ने एकिन जानकारी छैन ।