२०८३ बैशाख ३ गते बिहिवार

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आज हुँदै

काठमाडौँ ,जेठ ३२ । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुँदैछ।

सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात् आजका दिन गर्ने कार्यतालिका तय गरेको थियो।

सोही कार्यतालिका अनुसार आज सुनुवाइ हुने र आजनै सो प्रस्तावलाई अनुमोदन गर्ने तयारी हुन थालेको हो।

बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ।

समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परे। जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन बनेको सर्वोच्चमा हाल उनै प्रस्तावित प्रधानन्यायाधीश कार्की कायम मुकायम(कामु) प्रधानन्यायाधीश छन्।

प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ।

संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट पाँच/पाँच जना छन्। कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन्।

नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन्।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *