दाङ,चैत्र २८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौराका लोकराज डाँगीको फर्ममा १७ वटा गाई र ५ वटा भैसी छन् । फर्म सञ्चालन गरेर राम्रो आर्थिक उपार्जन गरेका डाँगीलाई लामो समयसम्म पनि खोरेत विरुद्धको खोपको व्यवस्था नभएका कारण गाईवस्तुलाई खोरेत रोग लाग्ने त होइन भन्ने त्रास थियो । उपमहानगरपालिकाले फर्म मै आएर खोप लगाएपछि डाँगीको चिन्ता दुर भएको छ । ‘अव एकवर्षलाई ढुक्क भइयो’ डाँगीले खुसी साटे ।
अर्का स्थानीय किसान ठगेन्द्र डाँगीको फर्ममा गएर पनि खोप लगाइएको छ । लामो समयदेखि उनले पनि चौपायलाई खोप नलगाएको हुँदना खोरेत रोग लाग्ने हो कि भन्ने त्रासमा थिए । पशुस्वास्थ्य कर्मी घरमै पुगेर निशुल्क खोरेत विरुद्धको खोप लगाएपछि किसानले खुसी भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानहरुलाई सुविधाका लागि घरदैलोमै पुगेर खोरेत विरुद्धको खोप लगाउने कामको सुरुवात गरेको छ । तर किसान आन्दोलित भएपछि मात्रै खोप लगाउने काम सुरु गरिएको छ । फागुन महिनामै लगाइ सक्नुपर्ने खोप नलगाइए पछि किसान आन्दोलित भएका थिए । त्यस लगतै आन्दोलनको नेतृत्व गर्ने किसानहरुको घरमै पुगेर खोप लगाउन थालिएको छ ।
तर पशु शाखााका पदाधिकारीहरु भने पहिलो चरणमा व्यवसायिक रुपमा पशुपालन गर्नेहरुको फर्ममा पुगेर खोप लगाउने र दोस्रो चरणमा किसानहरुकै घरमा पुगेर सुविधा दिने उदेश्यले खोप सुरु गरिएको बताउँछन् । तुलसीपुरका पशु शाखा प्रमुख सुदाम भट्टले वैशाख २ गतेबाट वडा कार्यालयको समन्वयमा किसानहरुका पशुलाई खोप दिन सुरु गर्ने प्रतिवद्धता जाहेर गरे । तर त्यसका लागि किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने भट्टले बताए ।
हरेक वर्ष सरकारले पठाउने खोप यो वर्ष भने समय सक्किन लाग्दा पनि नपठाएपछि किसान आन्दोलन भएपछिद मात्रै उपमहानगरपालिकाले खोप लगाउन पशु शाखा कार्यालयलाई ताकेता गरेको हो ।
‘केन्द्रीय सरकारले जिम्मेवारी समयमै पुरा नगरेता पनि हामी भने आफ्नो जिम्मेवारीवाट पन्छिएनौ’ नगरप्रमुख घनश्याम पाण्डेले भने ।
प्रमुख पाण्डेले उपमहानगरपालिकाले आफै खोप खरिद गरेर किसानलाई सेवा दिएको पनि वताए । उनले सरकारले ढिला गरेपछि उपमहानगरपालिका आफैले खोप खरिद गरेर खोप लगाएको जानकारी दिए । र्फममा रहेका पशुहरु समुहमा हिडेर कार्यालयसम्म जान नसक्ने भएकाले फर्म मै आएर खोप दिइएको स्वास्थ्य शाखा उपप्रमुख सुवास आचार्यले जानकारी दिए । खोरेत रोग हुने पशुहरु गाई, भैंसी र वंगुरलाई खोप दिने उनले वताए । ‘पहिलो चरणमा २५ सय पशुहरुलाई खोप दिइनेछ’ उनले भने । किसानको आवश्यकता अनुसार थप खोपको व्यवस्था गरिने उनले जानकारी दिए ।
योपनि पढ्नुहोस
तुलसीपुरका पशुपालक किसान आन्दोलनमा उत्रिए