दोहा, चैत २६ । सभामुख कृष्णबहादुर महराले अन्तर–व्यवस्थापिका संघ (आइपियू)को अध्यक्ष चुनिएकोमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदलाई बधाई ज्ञापन गरेका छन । दोहास्थित होटल सेराटनमा मंगलबार शिष्टाचार भेटका क्रममा सभामुख महराले समकक्षी कतारको संसदका अध्यक्ष अहमद विन अब्दुलाहलाई बधाई ज्ञापन गरेका हुन् ।
सो अवसरमा सभामुख महराले आइपियूको १४० औं सभा भव्यतापूर्वक सम्पन्न गरेकोमा कतारको संसद शुरा काउन्सिल, अध्यक्ष अब्दुल्लाह र कतार सरकारको प्रशंसा गरेका थिए । भेटवार्ताका क्रममा सभामुख महराले कतार र नेपालबीचको मित्रता सौहार्दपूर्ण र घनिष्ठ रहेको चर्चा गर्दै आपसी सहयोग र दुई पक्षीय सम्बन्धलाई अझैं प्रगाढ बनाउँदै जानुपर्नेमा जोड दिएका थिए ।
उनले राजनीतिक र संसदीय अभ्यास तथा अनुभव आदान प्रदान गर्नका लागि नेपालको संसदले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउँदै मैत्री संघका सदस्यहरुको नामावली हस्तान्तरण गरेका थिए।
सो अवसरमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदले कतार–नेपाल संसदीय मैत्री संघ छिट्टै गठन गरेर दुई पक्षीय भेटघाटको अवसर मिलाउने बताए । आफूलाई आइपियू अध्यक्षको जिम्मेवारीका लागि बधाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै छिट्टै संसदीय मैत्री संघमार्फत् भेटघाट र आपसी सहकार्य बढाउने विश्वास व्यक्त गरे ।
यही चैत्र २३ देखि कतारको दोहामा जारी आइपियूको १४० औं सभाले कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुलाहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।