२०८१ बैशाख २० गते बिहिवार

दाङमा हुने बाल चलचित्र महोत्सवका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं ,जेठ ५ । चलचित्र विकास बोर्डले आगामी असार १, २ र ३ गते दाङको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा सहभागिताको लागि फिल्मको आवेदन मागेको छ ।

बोर्डले सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामूलक तथा सन्देशमूलक फिल्मको प्रदर्शन गर्न लागिएको जनाएको छ ।

महोत्सवमा सहभागी हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्ने बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।

वृत्तचित्र, कथानक वा लघु फिल्मले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परी प्रदर्शन भएका फिल्मलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केही रकम समेत उपलब्ध हुने बताइएको छ ।

महोत्सवमा फिल्मको स्क्रिनिङसँगै दृश्यभाषाको ज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।

महोत्सवको क्रममा ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ, जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए ।

बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृति प्रवद्र्धन गर्ने, फिल्मको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल फिल्म महोत्सवमा बालबालिका तथा उनीहरुले बनाएका फिल्म सहभागी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *