२०८२ चैत्र १ गते आइतवार

प्रेस स्वतन्त्रता र पत्रकारको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिबद्ध छौं ः प्रधानमन्त्री दाहाल

काठमाडौं,बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री दाहालले सञ्चार क्षेत्रको व्यावसायिक संस्थागत विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति सरकारले लिएको पनि बताए ।

‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिबद्ध छ । सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ,’ उनले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको छ ।’

प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको पनि बताएका छन् ।

‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइँदै छ । यो प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरुका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदै छ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखि एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *