तुलसीपुर , बैशाख १७ । शिक्षकको माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा आइतबार दिउँसो बिद्यार्थीले घेराउ र नाराबाजी गरेका छन् ।
तुलसीपुर – १४ को बालमितेरी भोजपुरबाट आएका बिद्यार्थीले बिद्यालयका तीन शिक्षक टंक केसी, जंग केसी र लेखराज रिजाललाई फिर्ता गर्न माग गर्दै उपमहानगरपालिकामा नाराबाजी गरेका हुन ।
उनीहरुले बिद्यालयमा राजनीति बन्द गर, मनपरी शिक्षक सरुवा कार्य मुर्दाबाट, मनपरी शिक्षक सरुवा गर्ने कार्य बन्द गर, सरुवा भएका शिक्षकलाई फिर्ता गर भन्ने जस्ता नाराबाजी गरेका थिए ।
उनीहरुले नयाँ शैक्षिक सत्र सुरु हुँदा आँफुका कक्षा कोठाहरुमा आवश्यक शिक्षक नभएको भन्दै आक्रोस पोखेको थिए ।
उपमहानगरपालिकाले आँफुखुसी शिक्षक सरुवा गर्दा आँफुहरुले पढन नपाएको हुँदा तुरुन्त अनेत्र सरुवा गरिएका शिक्षकलाई फिर्ता गर्न उनीहरुले माग गरेका थिए ।
शिक्षक सरुवा गरिएको बिरोधमा झन्डै १३ किलोमिटर टाढा रहेको भोजपुरबाट बिद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिसमेत नगर घेराउ गर्न आएका थिए ।
बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भर्ना अभियान चलिरहँदा तीन जना शिक्षक सरुवा भएपछि पठन पाठन प्रभावित भएको र त्यसबाट बिद्यार्थी निराश बनेको जानकारी दिए ।
‘बिद्यार्थी भर्ना अभियान जारी रहेको समय सुरुवातमै कक्षाहरुमा शिक्षक नहुँदा खल्लो महसुश भइरहेको उनले बताए । तुलसीपुर – १४ का वडाध्यक्ष शंकर खड्काले बिद्यालय परिवार संग सरसल्लाह नै नगरी आँफुखुसी शिक्षकहरु मनपरी सरुवा गर्नु गलत भएको बताए ।
भर्नाको समयमा सामुदायिक बिद्यालयमा शिक्षक नहुँदा बिद्यार्थी तथा अभिभावक आक्रोसित बनेको उनले बताए । शिक्षक ब्यबस्थापनका नाममा तुलसीपर र घोराही उपमहानगरपालिकाले शिक्षक मनपरी सरुवा गरेको भन्दै त्यसको बिरोध हुँदै आएको छ ।
घोराहीका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् भने तुलसीपुर क्षेत्रमा केही बिद्यालय ब्यबस्थापन समितिहरु त्यसको बिरोधमा केही दिन पहिले बिज्ञप्ति मार्फत बिरोध जनाएका थिए ।