तुलसीपुर, बैशाख १४ । उच्च अदालत तुलसीपुरले यहाँको एउटा विद्यालय ब्यबस्थापन समिति गठन प्रक्रिया नमिलेको भन्दै पुनः नयाँ ब्यबस्थापन समिति गठन गर्न आदेश दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित हरिपौरी माध्यामिक विद्यालयको माघ २७ गते गठित विद्यालय ब्यबस्थापन समिति बदर गर्दै मंगलबार उच्च अदालतले पुनः अभिभावक भेला बोलाएर नयाँ ब्यबस्थापन समिति गठन गर्न आदेश दिएको हो ।
यसअघि गठित नेकपा एमाले निकटका खगेन्द्र अधिकारी विद्यालय ब्यबस्थापन समिति अध्यक्ष चयन गरिएदा प्रक्रिया नमिलेको भन्दै पुनः भेला मार्फत नयाँ समिति गठन गर्न आदेश दिएको हो ।
यसअघि अल्पमत संख्याबाट उनी अध्यक्ष चयन भएका थिए । नौ जना प्रतिनिधि मध्ये पाँच जना समर्थन तथा हस्ताक्षरसहित उनी अध्यक्ष बनेपछि त्यसको बिरुद्ध तुलसीपुर – १० पढ्ढाका अभिभावक अमृत चौधरीले चैत अन्तिम तिर रिट दायर गरेका थिए ।
रिट निवेदकले बिद्यालयका प्रधानाध्यापक डाँगीले माइन्यूट उठाउनु पर्नेमा नबनिर्वाचित अध्यक्ष अधिकारी आफैले माइन्यूट उठाएर आफैलाई अध्यक्ष निर्वाचित घोषणा गरेको कुरा उल्लेख गरेका थिए । तत्कालिन सदस्य सचिब तथा नियमतह तत्कालिन अबस्थामा विद्यालयका प्रधानाध्यापक रुद्र डाँगीले उक्त माइन्यूट उठाउनु पर्ने थियो ।
जसको पूर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका स्थानीय नेता शम्भु रेग्मीको समुहले गठन प्रक्रियाको बिरोध गर्दै आएका थिए । अधिकारीलाई अध्यक्ष निर्वाचित गरेपछि रेग्मीले माइन्यूटमा असहमति दर्ज गर्न खोजेका थिए ।
त्यतिखेर भेलामा पनि विद्यालयका तीन सय बढि अभिभावक मध्ये एक सयको हाराहारीमा मात्रै अभिभावक उपस्थित रहेका हुँदा अल्पमतले ब्यबस्थापन समिति गठन गर्नु न्यायोचित नभएको भन्दै बिरोध जनाउँदै आएका थिए ।