दाङ,चैत २१ । जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको छ । त्यसले भवन प्रयोगको विषयमा जिसस र वडा कार्यालय बीचमा अधिकार क्षेत्रको विवाद छताछुल्ल भएको छ ।
जिससले आफुसंग समन्वय नै नगरी कोठा प्रयोग गरेको आरोप लगाउँदै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाए पछि त्यसलाई वडा अध्यक्षले आफ्नो अधिकार र सम्पत्तिमाथिको हस्क्षप भनेका छन् ।
तत्कालिन जिल्ला विकास समितिको स्वामित्वमा रहेको सामी परियोजना (वैदेशिक रोजगारमा जानेहरुका लागि प्रशिक्षण केन्द्र) दिने गरिन्थ्यो । भवन खाली रहँदै आएपछि त्यसमा वडा कार्यालयले एउटा कोठा प्रयोग गर्दै आएकोमा जिससले एकाएक तालावन्दी गरिदिएको वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेले बताए । सामी परियोजनाको कार्यक्रमहरु स्थानीय तहमा गाभिएपछि उक्त भवन खाली रहँदै आएको थियो । त्यसमध्यको एउटा कोठालाई वडा कार्यालयको रुपमा प्रयोग गरेपछि आफ्नो सम्पत्तिमाथि हस्क्षप गरेको भन्दै जिससले बुधवार ताला लगाइ दिएको हो ।
अध्यक्ष पाण्डेले उपमहानगरपालिका र जिससका अधिकारीसंगको सहमति पछि वडा कार्यालय त्यहाँ सारिएको जानकारी दिए । विहीवार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष पाण्डेले वडा कार्यालयको आफ्नै भवन नहुँदा कार्यालय संचालनमा समस्या हुँदै आएको बताए । जिससले पनि विहीवार नै पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा वडा अध्यक्षले सहमतिमा कार्यालय सारिएको दाबी गरेभने जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले आफुहरु संग समन्वय नै नगरी वडा अध्यक्षले अर्काको सम्पत्ति हस्क्षपत गर्न खोजेको हुँदा ताला लगाउनु परेको दाबी गरे । वडा अध्यक्षले एक्कासी आएर आफ्नो कार्यकक्षमा ताला लगाएको भन्दै त्यसको विरोध गरे ।
‘एक महिनासम्म केही नबोल्नु र बुधवार आएर एकाएक ताला लगाउनुको रहस्य मैले बुझ्न सकिन,’ वडा अध्यक्ष पाण्डेले भने ‘ कार्यकक्षामा एकएक ताला लगाउँदा कामपनि गर्न सकिएको छैन।’ उनले स्थानीय सरकार माथि जिसस हाबी बन्न खोज्नु गलत भएको तर्क गरे । उनले वडा कार्यालयको सम्पत्ति माथि जिससले कब्जा जमाउन खोज्नु सरासर हस्क्षेप भएको दाबी गरे । वडा नं. १५ का वडा अध्यक्ष पाण्डे नेपाली काँग्रेस वाट निर्वाचित व्यक्ति हुने भने जिसस सभापति नेकपावाट चयन गरिएका व्यक्ति हुन ।
यसैबीच घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले उपमहानगरपालिको उक्त भवन प्रयोग गर्ने मौखिक सहमति जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमसंग भएको जानकारी दिएका छन् ।