दाङ, चैत २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कुनैपनि उल्लेखनिय काम नगरेर एक वर्ष विताएको बताएका छन् । दाङको लमहीमा बुधवार नेपाल प्रेस यूनियनले आयोजना गरेको त्रपकार सम्मेलनलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने ‘सरकारले वर्षदिनमा केही गरेन, तर गफ मात्रै ग¥यो।’ त्यस्तै मुलुकमा हत्या हिंसा बढेको, निर्मला पन्तका हत्यारालाई कारवाही नभएको प्रति देउवाले रोष प्रकट गरे ।
सरकारले कर अत्यधिक बढाएको,अत्यधिक महंगी बढाएको हुँदा सरकारकै कारण गरिवी बढेको देउवाको आरोप थियो । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेको आरोप लगाएका छन् । सरकार अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्दे अगाडि बढेको उनेको भनाइ छ । लुट कान्टा लुट गीत माथि प्रतिवन्ध लगाउनु र मिडिया माथिपनि त्यस्तै व्यवहार गर्ने सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेको देउवाले बताए ।
त्यस्तै उनले सरकारले सिके राहतसंग गरेको सहमतिले भ्रम सृजना गरेको देउवाले बताए । सरकार संगको सहमती पछि पनि सिके राउतका कार्यकर्ताले ‘नयाँ देशका स्वागत छ’ भन्ने जस्ता व्यानर लेख्नु आपत्ति जनक रहेको देउवाले बताए । ‘सिकेले जनमत संग्रह भन्या हो भन्छन्,’ देउवाले भने ‘जनमत संग्रहको नाममा होस वा अरु कुनैपनि नाममा देशको भाग छुट्याउन पाइनेछैन।’ त्यस्तै सभापति देउवाले विप्लव संगको सवाल वार्ता मार्फत समाधान गर्नुपर्ने बताए । लगानी सम्मेलन गर्नु राम्रो पक्ष भएपनि सरकारले त्यसको वातावरण निर्माण गर्न नसक्दा सम्मेलनको औचित्य पुष्टि हुन नसकेको देउवाको तर्क छ ।
पत्रकारले प्रदेश राजधानीको बिषयमा सोधेको प्रश्नको जवाफ दिदै काँग्रेस सभापति देउवाले दाङमा आवश्यक भौतिक पूर्वाधार नभएको हुँदा तत्कालिन समयमा आफुले बुटवललाई अस्थायी राजधानी तोकेको बताए । ‘दाङमा सभाहल, भवन केही थिएन,तर तत्काललाई त्यो नभइ नहुने थियो, त्यही भएर काम चलाउन तत्कालका लागि बुटवललाई अस्थायी तोकिएको हो,’ देउवाले भने ।
पूर्व प्रधानमन्त्री देउवाले तत्कालीन समयमा तोकिएका सबै राजधानी अस्थायी रहेको र प्रदेश सभाबाट स्थायी राजधानी तोकिने स्पष्ट पारे । ‘त्यतीबेला मैले स्थायी गर्ने पाउदैनथ्ये । जति तोकिए सबै अस्थायी हुन् । अब स्थायी कहाँ बनाउने भन्ने कुरा त प्रदेश सभाले गर्ने हो’उनले भने ।
त्यस्तै काँग्रेस सभापति देउवाले प्रतिपक्षको भूमिका कमजोर रहेको भन्ने कुरा अस्विकार गरे । ‘रेलिङ्ग भाँच्ने, तोड फोड गर्नु मात्रै प्रतिपक्षको काम होइन । देउवाले भने–‘रेलिङ्ग भाच्ने, आगो लगाउने, तोड फोड गर्ने काम त गलत कुरा हो ।’
काँग्रेस सभापति देउवाले आफुले आफ्नै साथीहरु बाट साथ नपाएको गुनासो गरे । ‘म ओली सरकारको खिलाफमा हुन्छु, .तर मलाई मेरै साथी मेरो खिलाफ जान खोज्छन्,’ देउवा भने ।
पत्रकार सम्मेलन प्रेस यूनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव आरके सितलले गरेका थिए ।