दाङ, चैत १४ ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेत्रविक्रम चन्द ‘विल्लव’ले नेतृत्व गरेको नेकपालाई हिंसात्मक समूहको संज्ञा दिएका छन् । नेकपाको तुलसीपुर उपमहानगर कमिटीको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताको बलबाट लेखिएको नयाँ संविधानलाई कार्यान्वय गर्ने बेलामा हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई पनि नभएको बताए ।
‘नयाँ संविधान बनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नुको साटो विप्लवले संविधान विरोधी गतिविधि गर्न हिंसाको सहारा लिनु गलत छ ।’ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोख्रेलले भने, ‘हिंसात्मक गतिविधि गर्ने समूह राजनीतिक हुनै सक्दैन् । त्यो हिंसात्मक समूह हो ।’
नेपाली काँग्रेसतर्फ ईंगित गर्दै पोख्रेलले बिगत काँग्रेस, एमाले र माओवादी हतियारकै सहारामा स्थापित भएको गलत नजिर देखाएर विप्लवको हिंसात्मक गतिविधिलाई राजनीतिक रङ दिन नहुने धारणा राखे । काँग्रेसदेखि माओवादीसम्मको क्रान्तिले गर्दा नै मुलुकले नेपालको संविधान पाएको तथा मुलुक समृद्धिको मार्गमा अघि बढेको हुँदा अब विप्लवले गर्ने भनिएको क्रान्तिको कुनै तुक नरहेको मुख्य मन्त्रीले दाबी गरे ।
विप्लव समूहको आन्दोलन एजेण्डाहीन र औचित्यहीन रहेको पोख्रेलले जिकिर गरे । उनले विप्लवकै कारण संविधान कार्यान्वयनमा चुनौती थपिएको धारणा राखे । जनताको दुईतिहाई बहुमतले संविधानमा रहेका हरेक प्रश्नहरु सुल्झाउन सकिने अवस्था रहेको हुँदा संविधान विपरीत गतिविधि गर्ने अधिकार कसैलाई नरहेको मुख्य मन्त्रीले बताए ।
मुख्य मन्त्रीले विप्लव जनताको मन जितेर शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताए । विप्लव समूहले १६ गते आन्दोलनको घोषणा गरेको भए पनि कानुन ब्यवसायीलाई खुसी पार्न आन्दोलन फिर्ता लिएको उनले आरोप लगाए ।
कानुन व्यवसायीले आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई छुटाउनका लागि बहस गर्नुहुन्छ भन्ने हेतुले बारको चुनावलाई मध्यनजर गरी बन्द फिर्ता लिइएको मुख्यमन्त्रीको आरोप थियो । एसइई परीक्षा सञ्चालन भईरहेको अवस्थामा कलिला विद्यार्थीभन्दा पनि विप्लवले बारको चुनावका लागि बन्द फिर्ता लिएको उनले जिकिर गरे ।