लिलाधर वली
दाङ, चैत १३ ।
विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले देशमा सशस्त्र द्वन्द्व सिर्जना गर्ने काम गरेको नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले बताएका छन् । प्रेस युनियन दाङ शाखाले बुधबार आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोईरालाले असन्तुष्ट पक्षलाई वार्ता र संवादका माध्यमबाट सहमतिमा ल्याउनुपर्ने भएपनि सरकारले प्रतिवन्ध गरेर गलत गरेको बताए ।
महामन्त्री कोईरालाले विगतमा माओवादीले गरेको दश बर्षे सशस्त्र द्वन्द्वबाट पाठ सिकेर सरकारले देशलाई द्वन्द्वमा जानबाट रोक्नुुपर्ने बताए । ‘सशस्त्र द्वन्द्वले देशलाई ठूलो नोक्सान गर्छ, त्यो सरकारले विगतको माओवादी आन्दोलनवाट बझ्नुपर्छ’, महामन्त्री कोईरालाले भने, ‘देशमा हत्या र हिंसा रोक्न सरकारले बेलैमा साेंच्नुपर्छ ।’
विगतमा युद्धरत माओवादीलाई वार्ता र संवादका माध्यमबाट शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिले विप्लवलाई हिंसाको बाटोबाट रोक्न प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । महामन्त्री कोइरालाले सरकारका कारण अहिले देश अप्ठेरो परिस्थितिमा रहेको बताए ।
प्रधानमन्त्रीले समृद्धि सपना जनतालाई बाँड्ने तर पूरा नगर्ने प्रतिवद्धताका कारण देश अप्ठेरोमा परिस्थितिमा पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई जनताको चाहना र आवश्यकतालाई ख्याल गरेर बोल्न र काम गर्न गरेका थिए । त्यस्तै उनले प्रधानमन्त्री सम्पूर्ण अधिकारमा आफूमा केन्द्रीत गरेर राज्य कब्जा गर्ने रणनीतिमा अघि बढेको आरोप लगाए ।
‘सेना परिचालनको अधिकार आफूमा ल्याउन खोज्नु, प्रेस स्वतन्त्रतामा बन्देज लगाउन खोज्ने र न्यायालयमाथिको प्रहारलगायतका घटनाले प्रधानमन्त्री स्वच्छाकारी बन्दै गएको देखिन्छ’, पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रीमा बढ्दै गएको महत्वाकांक्षाले देशलाई कहाँ पु¥याउँछ ?’ उनले सरकारका एक बर्षीय क्रियाकलापलाई मूल्याङ्कन गर्ने हो भने बहुमत प्राप्त दुई तिहाईको सरकारलाई पनि खोज्नुपर्ने अवस्था रहेको बताए ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन भएको थियो । उनने पार्टीलाई संगठित एकतावद्ध बनाउन सबैले ध्यान दिनुपर्ने बताए । महामन्त्री कोइरालाले आउने महाधिवेशनमा आफू सभापतिको उम्मेदवारी दिने नदिने पक्षमा अझै नसोंचे पनि कार्यकर्ताहरुको चाहना भने भएको बताएका थिए ।