तुलसीपुर फागुन २० । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विगतमा स्थगन गरिएका कक्षा अभिभावकहरुको सहयोग भए आगामी शैक्षिक सत्रदेखि नै सुरु गर्न सकिने बताएका छन ।
तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा विद्यार्थीहरुको संख्या घटेको भन्दै केही विद्यालय मर्ज गरेको थियो भने केहीको कक्षा स्थगन गरिएको थियो । नगरप्रमुख टीकाराम खड्काले कक्षा स्थगन गरिएका विद्यालयका अभिभावकहरुबाट पुन ः कक्षा सञ्चालनका लागि माग भएर आएको अवस्थामा आगामी शैक्षिक सत्रबाट नै कक्षा सञ्चालनको लागि जनशक्ति व्यवस्थापन गरिने बताएका हुन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिको चौथो नगर परिषद् एवम बधाई सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले समयको मागसंगै शिक्षकले प्रविधिको उपयोगसंगै शिक्षण कार्यकलाप अघि बढाए मात्रै शैक्षिक उपलब्धि प्राप्त गर्न सकिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षकका लागि पेशागत सुरक्षा,दक्षता,सीप विकासका लागि पालिकाबाट सधै सहयोग रहने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरुबाट प्रयास भएपनि उपलब्धि देखिन नसकिरहेको बताए । उनले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भई शिक्षक पेशामा जोडिनुभएका शिक्षकहरुलाई बधाइ ज्ञापन गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षक संघ,संगठनहरुको छलफल,सहकार्य,समन्वयबाट नै शिक्षकको हकहितका लागि पालिकाबाट योजना,निर्माण कार्यान्वयन गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका सचिव भागवत पौडेलले समाजले शिक्षकलाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै पेशागत जिम्मेवारीमा विशेष ध्यान दिनुपर्ने बताए ।
नगर अध्यक्ष होमराज डाँगीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत, संगठनका दंगीशरणका अध्यक्ष चन्द्रलाल जैशीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षण पेशामा भर्खरै सेवा प्रवेश गर्नुभएका,सेवा निवृत्त शिक्षकहरुलाई बधाई एवम सम्मान गरिएको हो ।