दाङ,चैत ११ । बबई गाउँपालिकामा बालुवा गिट्टी उत्खनन् बारेको विवाद फेरि उत्कर्षमा पुगेको छ । यहाँ ठेक्का लागेदेखि नै पटक-पटक विवाद हुँदै आएको छ । केही समय पहिले यहाँ अनुगमनमा गएको जिल्ला समन्वय समितिको टोलीले मापदण्ड विपरित फकर ठाउँवाट उत्खनन् गरेको भन्दै झन्डै एक दर्जन गाडी नियन्त्रणमा लिएको थियो । बवई गाउँपालिकाले वडा नं. ५ जलुकेस्थित बबई नदीको बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र साथै ईआइए गरी ठेक्का लगाएको ठाउँमा भन्दा फरक ठाउँमा जंगल भित्र उत्खनन् भएको युवराज कडेलले फरककोणले जानकारी दिए ।
नदीजन्य पदार्थ उत्खनन्मा सुरुदेखि नै विवादित बन्दै आएको ववई गाउपालिका उत्खनन्कै विषयमा आइतवार रातिदेखि फेरि विवादित बन्न पुगेको छ । सोमवार विहानदेखि साँझ अवेरसम्म स्थानीयले उत्खनन्मा प्रयोग गरिएका झन्डै एक दर्जन जति साधन आफ्नो नियन्त्रणमा राखेको बताएका छन् । स्थानियबासीले एउटा स्काभेटर, एउटा जेसिबी र ७ वटा टिप्पर नियन्त्रणमा लिएको जानकारी दिएका छन् । स्थानियले ठेक्का नलगाइएको वन क्षेत्रबाट गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको मिलोमतोमा अवैद्य उत्खनन् गरेपछि ती साधन नियन्त्रणमा लिनुपरेको बताएका छन् ।
ठेकेदार लगायत केही स्थानिय व्यक्तिहरुले समेत खुलेआम उत्खनन् गरी बालुवा गिट्टी विक्रि वितरण गर्न थालेपछि त्यहाँको वातावरणिय पक्षलाई मध्यनजर गर्दै साधन नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।
ईआइए गरिएको खोलाको उत्खनन् ठेक्का लागेपनि गाउँपालिकाको मिलोमतोमा जंगलक्षेत्रबाट समेत मनपरी रुपमा ढुंगा निकाल्न थालिएपछि स्थानीयले त्यसको विरोध गरेको स्थानिय संघर्ष समितिका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।‘एक ठाउंमा उत्खखनका लागि आइई गरिएको छ, तर यहाँ अर्कै स्थानबाट उत्खनन् भइरहेको छ, स्थानिय पुर्णवहादुर केसीले भने, त्यसको विरोधमा स्थानीय जनता आन्दोलनमा उत्रिएका हुन ।’
उनले स्काभेटरलाई जंगलमा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको दाबी गरे । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल,जिल्ला समन्वय समिति र सेक्टर वन कार्यालयलाई अनुरोध गरेपनि कुनै निकायबाट सोमवार दिनभर अनुगमनका लागि त्यहाँ पुगेनन् ।
स्थानीयले नियन्त्रणमा लिएका गाडिहरुको मुचुल्का उठाउन ईलाका प्रहरी कार्यालय खिलतपुर र हापुरे बाट प्रहरी घटनास्थल पुगेपनि स्थानीयले भने जिल्ला वन लगायतको अनुगमन पछि मात्रै लैजान दिन अडान लिएपछि प्रहरीपनि त्यसै फर्किन बाध्य भएको थियो । ‘प्रहरीले गाडि जवरजस्ती लैजाने मात्रै प्रयास गर्दा केही बेर झडपका स्थिति सृजना भएको थिया, तर जनताको अगाडि उनीहरुको पनि केही जोर चलेन र फर्किए,’ युवराज कडेलले भने ।
तर प्रहरीले भने गाडि खोसेर ल्याउन गएको नभई घटनावारे सत्य तथ्य बुझ्नका लागि मात्रै गएको प्रतिक्रिया दिएको छ । बबई गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चिन्तामणि शर्माले अवैद्य रुपमा जंगल क्षेत्रवाट मिलेमतोमा उत्खनन् भइरहेको भन्दै त्यो तत्काल रोकिनु पर्ने माग गरे ।
युवकमाथि कुटपिट भएपछि विवाद
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल लगाएका व्यक्ति आइतवार बेलुकी पख ३ वटा जति मोटरसाइकलमा २÷ जनाका दरले चढेर जलुके गए । त्यहां खानपान भयो । जहाँ एक जना युवामाथि हातपात भयो । स्थानीयका अनुसार ती युवा नेपाली काँग्रेससंग आवद्ध हुन । त्यो खवर पछि खवर केही क्षणमै फैलियो । त्यसपछि जलुकेका स्थानीय गाउँपालिका अध्यक्ष माथि समेत रिसाए । जाइलाग्न थाले ।
त्यही क्रममा नेपाली कांग्रेस पुरन्धारा ईकाइ सभापति वलवहादुर बुढा, उपसभापति पिमलाल केसी, नेपाल शिक्षक महासंघ दाङका अर्थ समिति संयोजक पुर्णवहादुर केसी सहितको टोली जलुके नजिकै पुग्दा गाउँपालिकाको गाडि देखियो । त्यही क्रममा धकेलाधकेल भयो । त्यही क्रममा गाउँपालिकाका अध्यक्षको गाडिको एउटा लुकिङ समेत फुटाइयो । सरकारी गाडी नदीजन्य पदार्थ उत्खनन् क्षेत्रमा आएको भन्दै विवाद चुलिएको काँग्रेस पक्षधरहरु दाबी गर्छन । तर गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले भने जलुके निवासी शिक्षक रामबहादुर भण्डारीले खानेपानी योजना वारे छलफल गर्न बोलाएको हुँदा अध्यक्ष पौडेल लगाएत त्यो छलफलको लागि जलुके पुगेको जानकारी दिए ।
‘अध्यक्षले एउटा केटालाई विना अर्थ कुट्न लगाउने भन्ने कुरा गलत हो,’ पाण्डेले भने ‘ बरु गाडी बाट फर्कदै गर्दा अध्यक्षज्यूको गाडि घेर्ने र तोडफोड गर्ने काम भएको रहेछ।’ उनले अध्यक्ष उत्पन्न विवाद समाधन गर्न हदै सम्मको लचक भएपनि त्यसलाई राजनीतिक रंग दिन खोजिएको तर्क गरे । टिप्परहरुको हावा फालेको हुँदा सबै साधन जंगल क्षेत्रमै रहेको पाण्डेले जानकारी दिए ।
यसैबीच स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सहितको टोलीले मंगलवार त्यहाँ स्थलगत अनुगमन गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थलगत अनुगमन गरी समस्याको तत्काल निकाशा दिने र दोषिलाइ कारवाहि गर्ने बताएका छन् ।
सबै तस्बिर युबराज कडेल ।