तुलसीपुर,माघ २६ । कक्षागत रुपमा पढाइ सञ्चालन भए पनि अभ्यासको कमी भएको भन्दै तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसले बिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि तालिम शुरु गरेको छ ।
क्याम्पसले बिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि लेखा, अडिट र करसम्बन्धी गोष्ठी शुरु गरेको हो । क्याम्पसले उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने गरेको भए पनि फिल्डमा जाँदा अनुभव कम हुने भन्दै अध्ययनकै क्रममा अभ्यास गराउने किसिमले गोष्ठी शुरु गरेको राप्ती बबई क्याम्पस तुलसीपुरले जनाएको छ ।
यसमा बिबिएस अध्ययन गर्ने सबै विद्यार्थी सहभागी हुने क्याम्पस प्रशासनले जनाएको छ ।
गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राम थापाले बिबिएस अध्ययन गर्ने बिद्यार्थीमा भाषागत विज्ञता, लेखा प्रणाली र कम्युटर सम्बन्धी सम्पूर्ण ज्ञानको आबश्यकता रहने बताए ।
विद्यार्थी क्याम्पसमा उत्कृष्ट भएर नहुने भन्दै फिल्डमा त्यसको प्रयोगात्मक अभ्यासमा पनि उत्कृष्ट हुनुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत राजेन्द्र भण्डारीले कर संकलन भएर मात्रै राज्य सञ्चालन हुने बताए ।
राजश्व कार्यालयमार्फत कर संकलन मात्रै नभएर नियमितरुपमा बजार अनुगमनसमेत गर्ने बताए ।
सबै ब्यवसायीसँग खरिदबिक्री खाता अनिबार्य रहेको भन्दै कर अधिकृत भण्डारीले कहिलेकाहीं राजश्व कार्यालयले बजारमा छापा मार्ने गरेको बताए ।
उद्घाटन अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव प्रेमप्रकाश गिरी, विज्ञ वीरेन्द्र महराले बोलेका थिए ।
राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावतको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
राप्ती बबई क्याम्पस ब्यवस्थापक विभाग प्रमुख किरण केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपप्राध्यापक सूर्यप्रसाद शर्माले गरेका थिए । ्
बिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि ६० दिनसम्म कक्षा सञ्चालन हुने विज्ञ वीरेन्द्र महराले जानकारी दिए ।