शिबराज पन्थी,
देउखुरी, ७ चैत ।
राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबीच राप्ती नदीको नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणका बिषयमा झण्डै अढाई महिना पहिलेदेखिको सीमा विवाद हालका लागि सहमतिमा पुगेको छ ।
यही चैत्र ३ का दिन जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षता र प्रदेश नं. ५ का सांसद इन्द्रजित चौधरी दुवै गाउँपालिकाका अध्यक्षहरु सहजराम यादव, नुमानन्द सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती गाउँपालिकाका वडा अध्यक्षहरु समेतको उपस्थितिमा यस्तो निर्णय भएको हो ।
आर्थिक बर्ष २०७५÷७६ का लागि राप्ती गाउँपालिकाले प्रारम्भीक अध्ययन प्रतिवेदन तयार गरेका खुरुरीया बगर, भानपुर बगर र मझेरीया इण्टेक नजिकको बगर तथा बगरापुर बगर मध्ये भानपुर बगरापुर र खुरुरीयाको घाटबाट यस आर्थिक बर्षका लागि राप्ती गाउँपालिकाले टेण्डर गरिसकेकोले सोही गाउँपालिकाले नै उत्खनन् तथा बिक्री वितरण गर्न पाउने निर्णय भएको छ भने प्रारम्भीक अध्ययन प्रतिवेदन (आइईई) भएको तर टेण्डर प्रक्रियामा नगएको मझेरीया इण्टेक नजिकको बगरघाटमा गढवा गाउँपालिकाले सोही प्रतिवेदनको आधारमा यस आर्थिक बर्षका लागि उत्खनन् तथा निकासी प्रकृया अगाडि बढाउने सहमति भएको पाइएको छ ।
लामो समयको राप्ती सीमा विवाद हालका लागि समाधान भएको छ । यस आर्थिक बर्षका लागि गढवा गाउँपालिकाले मझेरीया इण्टेक नजिकको नदीघाटबाट नदीजन्य पदार्थको उत्खनन् तथा निकासी प्रकृया अगाडि बढाउने तयारीमा छ– गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।
आर्थिक बर्ष २०७५÷०७६ का लागि मात्र यस्तो सम्झौता भएको हो, यो नै दीर्घकालिन निकास होइन, कसैलाई पनि भ्रममा नपर्न उनले आग्रह गरे । हामी आपसमा हाम्रो आफ्नै साधन स्रोतको प्रयोगमा विवाद गर्ने होइन, जुन किसिमको निकास वा सहमति भएको छ यसले हामीबीचको सद्भाव र हाम्रो क्षेत्रको समृद्धिका लागि महत्व दिने छ– प्रदेश सांसद इन्द्रजित चौधरीले बताए । तत्कालका लागि दुबै गाउँपालिकाले जुन किसिमको निकास निकालेका छन् त्यो स्वागतयोग्य काम भएको छ । यसरी नै आपसमा बसेर विवाद समाधान गर्नु बुद्धिमता हो– प्रदेश नं. ५ का सांसद रेवतीरमण शर्माले भने ।