२०८१ मङ्सिर १७ गते सोमवार

मेरो खुशी : बेसहाराको सहारा …

तुलसीपुर उपमहानगरपालिका—१८ बिजौरीका युवा विदुर गौतम समाजसेवाको क्षेत्र बदलिरहेका छन् । रेडक्रसको आजीवन सदस्यदेखि नेविसंघको क्षेत्र नम्बर ३ को कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी सम्हालेका गौतम पछिल्लो पटक राजनीतिसँगै उद्योगी व्यवसायीको राजनीतिमा पनि जोडिन पुगे ।

बिजौरी उद्योग वाणिज्य संघको अधिवेशनमा बामएकता भइरहेको अवस्थामा उनै गौतम बिजौरी उद्योग वाणिज्य संघका पनि महासचिव बने ।

उनले आफ्नो खुसीको सम्पूर्ण श्रेय आफ्ना स्वर्गीय पिता भिष्म गौतमलाई दिए । बुवाको सामाजिक अभियानलाई मैले सकेजति अनुशरण गर्दै यो स्थानमा आएको छु भन्ने विदुरको अभिव्यक्ति थियो । खासमा युवा व्यवसायी, युवा नेता एवम् युवा समाजसेवी गौतम अहिले पनि बुवाको समाज सेवाको अभियानमा आमा माया गौतमको साथ र सहयोगमा सामाजिक अभियन्ता एवम् राजनीतिकर्मी बन्ने अभ्यासमा छन् ।

मृदुभाषी गौतम सधैँ भावुक मुद्रामा देखिन्छन् तर उनको चेहराले दिएको संकेत भन्दा उनी फरक शैलीमा प्रस्तुत हुन्छन् । उनी उद्योग वाणिज्य संघको महासचिव हुँदाको क्षण होस् वा नेविसंघको नगर सभापतिको कार्यभार । उनी सधैँ बेसहाराको सहारा बन्ने अभ्यासमा निरन्तर लागिरहे ।
बिजौरी उद्योग वाणिज्य संघ खुल्दै गर्दादेखि नै व्यावसायिक एकताको पहरेदार बन्न खोजेका उनै विदुर अहिले बिजौरी उद्योग वाणिज्य संघको महासचिवमा निर्वाचित भएका छन् ।

सायद अवस्था आयो भने उनी बिजौरी उद्योग वाणिज्य संघलाई नेतृत्व दिन पनि तयार छन् । विदुरका खुसीका क्षण धेरै छन्, जुन दिनलाई उनले तिथि मितिका रूपमा त टिपोट गरेका छैनन् । तैपनि बिजौरी उद्योग वाणिज्य संघको महासचिव

निर्वाचित हुनाको दिनलाई उनले अविस्मरणीय खुसीको क्षणका रूपमा लिएका छन् । आफ्नै हजुरआमाको निधनका कारण कीर्यामा बसेको अवस्थामा पनि उनले बिजौरी उद्योग वाणिज्य संघको महासचिवलाई २६ मतको अन्तरमा पराजित गरे ।

‘मैले त्यो बेला खुसी शेयर गर्न भोजभतेरको अवस्था थिएन तर हजुरआमा बितेको ४५ दिनपछि साथीभाइसँग सामान्य गेटटुगेदर गर्दा म निकै हौसिएको थिएँ’, विदुरले भने । उनले त्यो बेला बिजौरी उद्योग वाणिज्य संघलाई तुलसीपुर क्षेत्रकै नमुना उद्योग वाणिज्य संघ बनाउने पनि प्रण गरेका थिए ।

बजारमा सुरक्षित व्यापारका लागि उद्योग वाणिज्य संघ र स्थानीय प्रहरीसँगको सहकार्यमा बजार गस्ती, बजारी क्षेत्रमा सडकबत्ती, फोहर व्यवस्थापनका लागि नियमित नगरपालिकाको गाडी ल्याउने, बिजौरीलाई दुव्र्यशन मुक्त बनाउने, लैङ्गिक हिंसामुक्त बनाउनेलगायतका थुप्रै सपना विदुरसँग जोडिएका छन् ।

ती सबै सपना कसरी पूरा होलान्, त्यो त समयले देखाउने छ तर पनि विदुर कर्ममा विश्वास गर्छन्, फलको आशा सामान्य र स्वाभाविक रूपमा लिन्छन् । गन्तव्य तय गरे अवश्य पुगिन्छ भन्ने विदुरको नीति हो तर कहिले बाटोमा ठेस लाग्नसक्छ, त्यसलाई स्वाभाविक रूपमा लिँदै आफू अघि बढ्ने पनि विदुरको प्रण छ ।

उनलाई युवाहरू बेरोजगार भएकोमा चिन्ता छ । युवाहरूलाई राजनीतिको मूल प्रवाहमा ल्याउन नसकेकोमा पनि चिन्ता र चासो छ । देशको अर्थतन्त्र धरापमा परिरहँदा युवा स्वोरोजगार कार्यक्रम राज्यका तीनै तहका सरकारले ल्याउन नसकेकोमा गुनासो छ । यसका लागि राजनीति एउटा अपरिवर्तनीय गन्तव्य हो भन्ने पनि उनलाई आत्मबोध भइसकेको छ ।

नीति निर्माण तहमा पुगेकाहरूबाट यी सबै कुराको सम्बोधन भएमा मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको विश्वास छ । उनले त्यही सेरोफेरोमा रहेर युवाहरूलाई स्वरोजगार बनाउने अभियानमा लविङ पनि गरिरहेका छन् ।

खुसी त यो बेलाभन्दा बालापनमा धेरै हुने गरेको उनको स्मरण थियो । सानै उमेरमा इट्टाको चाङ लगाएर मजाको भकुण्डो बनाएर त्यो चाङलाई ढलाउने खेल कम्ती खुसीको क्षण हुन्थेन’, गौतमले स्मरण गरे । साथै लारीबेटीको खेलदेखि अन्य धेरै खेलमा पनि मित्रता लुकेको हुने उनको अभिव्यक्ति थियो । त्यसो त उनका खुसीका अविष्मरणीय क्षण धेरै छन् । नेविसंघको कार्यवाहक सभापति हुँदा उनी प्रफुल्लित थिए ।

नेपाल विद्यार्थी संघको नेतृत्व गरिरहेका तुलसीपुर नेविसंघका अध्यक्ष एकराज खड्का डिभी परेर अमेरिका जाँदा यिनै विदुरलाई नेविसंघको राजनीतिको बागडोर सुम्पिएका थिए । उनले दिएको राजनीतिको बागडोरलाई जीवन्त राख्न खोज्दै थिए, विदुर । तर, नेविसंघको अधिवेशनकै टुङ्गो नलागेकोमा विदुर राजनीति अन्योलमा छ । महाभारतका विदुरजस्तै विदुर पनि एउटा अवसर कुरिरहेका छन् ।

उनले खुसीको परिभाषा भिन्नै ढङ्गले प्रस्तुत गर्छन् । सुख, सम्पत्ति, भोग, विलाश ठूलो धनराशी केही पनि खुसी होइन, खुसी केवल आत्मसन्तुष्टि हो, खुसी अरुको पनि खुसीमा जोडिनु पर्दछ, विदुरको खुसीको परिभाषा हो, यो । खुसीलाई पैसाले कहिल्यै किन्न र ग्रहण गर्न पनि नसकिने उनको अभिव्यक्ति हो ।

तुलसीपुर उपमहानगरपालिका बिजौरीको मुढेगाउँमा जन्मिएका विदुरको प्रारम्भिक शिक्षा लिटिल फ्लावर बोर्डिङ स्कूलमा भयो । त्यसपछि उच्च शिक्षा आदर्श बोर्डिङ स्कूल तुलसीपुरमा र त्यहीँ अर्को कक्षा पनि उत्तीर्ण गरे । विसं २०५१ साउन, ३ गतेका दिन जन्मिएका गौतमले उच्च शिक्षा अरुणिमा हायर सेकेण्डरी स्कूल काठमाडौंबाट सम्पन्न गरे ।

ठिक्क मिलेको दारीमा उनको दाँत नखुल्ने मुस्कान देखिन्छ । उनलाई कसैले सेण्टिमेन्टल व्याव भन्छन् त कसैले नतमस्तक व्यक्तित्व, कसैले त एउटा दार्शनिक चरित्रको रूपमा पनि टीकाटिप्पणी गर्छन् । खासमा विदुर विदुरै हुन् ।

काठमाडौंमै उनले समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन पूरा गरेपछि फेरि राजनीतिमा होमिएका छन् । महाभारतको कथामा महामन्त्री विदुरको राजनीतिजस्तै यहाँका विदुरको राजनीति कतिसम्म अघि बढ्ला ?

आगामी पुस्ताले मूल्याङ्कन गर्नेछन् तर विदुरको एउटै चाहना छ, राजनीति र समाजसेवा । खुसीलाई पहिलो अर्थमा प्रष्ट्याउन चाहन्छन् विदुर । खुसी पैसाले खरिद गर्ने वस्तु होइन, मिहिनेत र सन्तुष्टिको उपज हो । पैसाले कहिलेकाहीँ खुसीलाई नष्ट पनि पार्नसक्छ । विदुर भनिरहका थिए, बेसहाराको सहारा नै खुसी हो ।

 

 

प्रस्तुती : खेमराज रिजाल

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *