दाङ,पुस २६ । लुम्बिनी प्रदेशमा मंगलबार मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने भएको छ। नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि आज दावी पेश गर्दैछन्।
सत्तासाझेदार दलहरूको राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले आज अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो।
लुम्बिनीमा अहिले १३ मन्त्रालय छन्। तर सुरुमा सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी छ।
नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थमान बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।
सोही प्रावधानअन्तर्गत प्रदेश प्रमुखले पुस २७ गते बुधवार अपराह्न ४ बजे सम्मको समयमा दावी पेश गर्न समय दिएका दिएका थिए। सत्तासाझेदार दलसँग ५२ प्रदेशसभा सदस्य छन्।
बहुमत पुर्याउन ४४ प्रदेशसभा सदस्य आवश्यक पर्थ्यो। यहाँ एमालेको २९, माओवादीको ९, राप्रपारनागरिक उन्मुक्तिको ४-४ र जनमत पार्टीरजसपाको ३-३ सिट छ।
नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चार नेकपा एकीकृत समाजवादीको एक-एक, लोकतान्त्रिक समाजवादीको तीन र स्वतन्त्र ३ जना छन्।
यो प्रदेशमा एमालेले मुख्यमन्त्री, माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने सहमति भएको थियो।
प्रदेशसभा सदस्य बसन्त घर्तीलाई माओवादीले सभामुख र उपसभामुखमा राप्रपाकी प्रदेशसभा सदस्य मेनुका खाँड केसीलाई बनाउने चर्चा चलेको छ।
यद्यपि यी दुई पदको बाँडफाँड गर्न दुवै दलको बैठक बस्दैछ।