दाङ, कात्तिक ११ । अर्घाखाँचीको निर्माणाधिन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् ।
गएराति ११ बजेतिर भएको दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ बर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार रिजालका मृतक दुबै जना २–०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए ।
त्यस्तै बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार थप दुई जना घाइते छन् । उनीहरु सन्धिखर्क– २ का ५७ वर्षीय हेमराज भुसाल र २० बर्षीय विष्णु पराजुली रहेको डिएसपी रिजालले बताए ।
यी दुबै घाइतेको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी रिजालले जानकारी दिए । घाइते मध्य पराजुलीको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधिन एयरपोर्टको धावन मार्गबाट दुई मोटरसाइकल झन्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
निर्माणाधिन एयरपोर्टमा तीब्र गतिका मोटरसाइकल रातिमा बाटो बिराएर खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
दुबै मोटरसाइकल चालकको मदिरा सेवन गरेको हुन सक्ने र संगसंगै गुडिरहेका मध्य अगाडिको मोटरसाइकलले बाटो बिराए पछि त्यसको पछिपछी अर्कौ मोटरसाइकल गएको अनुमान भइरहेको डिएसपी रिजालले बताए ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।
