तुलसीपुर, कात्तिक ६ । बबई नदीबाट डुबेर बेपत्ता दुई बालिकाको शब २४ घन्टा पछि निकालिएको छ ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. २ की १४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १४ बर्षीया गोमा चन्द शनिबार दिउँसो साढे १२ बजे नुहाउने क्रममा बबई नदीमा डुबेका कारण बेपत्ता थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी गाउँको सीमानामा पर्ने सिमलकुना घाट नजिकै बबई नदीमा नुहाउने क्रममा उनीहरु शनिबार दिउँसो साढे १२ बजेतिर डुबेर बेपत्ता भएका थिए ।
दुबै जनाको शब आइतबार साढे तीन बजेतिर डुबेकै स्थानको धेरै गहिराइमा अड्किएको अवस्थामा फेला परेको इलका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
नदीमा नुहाउन गएका तीन बालिका मध्य एक जना भने पौडिएर ज्यान जोगाउन सफल भएको शनिबार नै प्रहरीले जानकारी दिएको थियो ।
नदीबाट बाहिर आएर हेर्दा संगै नुहाउन नदीमा पसेकाहरु नदेखेपछि ती बालिकाले नै गाउँ घरमा दुई जना डुबेर बेपत्ता भएको सूचना दिएकी थिइन ।
त्यसबारे प्रहरीलाई दिउँसो १ बजेतिर खबर दिइएको थियो ।
शनिबार दिनभर खोजी गर्दापनि उनीहरु फेला परेका थिइनन् । आइतबार बिहानैदेखि उनीहरुको खोजी थालिएको थियो ।