तस्बिर : शरद रेग्मी ।
तुलसीपुर, असोज ३०। दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले आँफुले जितेर लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनेपछि तुलसीपुर – घोराही सडक खण्ड हाइ हेल्लो गर्दै सरर यात्रा गर्ने बताउने बताएका छन् ।
तुलसीपुरमा शनिबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर ४ गतेको निर्वाचनमा आँफुले जितेपछि तुलसीपुर घोराही सडक खण्ड चार लेनको डेडिकेटेड सडक बनाउने र त्यसपछि हेलो हाइ गर्दै यात्रा गर्न लाइक बनाउने दाबी गरेका हुन ।
यतिखेर जिल्लामा तुलसीपुर चारलेन सडक खण्ड उनकै छोरा अनुप पाण्डे ठेकेदार भएको हुँदा काम नगरी अलपत्र पारेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।
केही दिन पहिले मात्रै पाण्डेका प्रतिष्पर्धी तथा नेपाली काँग्रेसको तर्फबाट सोही पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले बाबु मेयर र छोरा ठेकेदार हुँदा तुलसीपुर – घोराही सडक खण्ड अलपत्र परेको भन्दै सार्वजनिक रुपमै आलोचना गरेका थिए ।
तर, पाण्डेले पत्रकार सम्मेलनमा उक्त ठेक्का भारतको तथ्य इञ्जिनियरिङलाई परेको टेन्डर भारतीय निर्माण ब्यबसायी प्रबिणदेव पाण्डेलाई परेको र उनी पाण्डे भएको हुँदा घनश्याम पाण्डेको छोरालाई नाम जोडेर सेटिङमा टेन्डर मिलाइएको भन्ने कुरा झुट भएको स्पष्ट पार्न चाहेका थिए ।
‘चारलेन सडक ठेक्का बारे र तुलसीपुरलाई ऋणमा डुवाएको भन्ने कुरा जसरी भ्रम फिजाइएको छ त्यो सत्य हैन,’ उनले भने ‘ यो विकाउ एजेण्डा हैन भन्ने कुरा स्थानीय तहको निर्वाचनमा तुलसीपुर र घोराहीमा एमाले बिजयी हुनुले पनि पुष्टि गरिसकेको छ ।’
नाम चारलेनको भएपनि तुलसीपुर–घोराही सडक खण्ड चारलेनको नभएको भन्दै अहिलेकै अवस्थामा यो परियोजना बन्नु र नबन्नुको कुनै औचित्य नभएको उनले बताए ।
‘यो सडक खण्ड सर्पले भ्यागुतो निलेको जस्तै भयो,’ उनले भने ‘ नाम फोर लेन भएपनि यो फोरलेन हैन । बबई पुलदेखि हात्ती खौवासम्म मात्रै बिस्तार गर्नुले नेताहरुको घर जान्छ कि भन्ने चिन्ताले हो । मैले जितेपछि बबई पुलदेखि तुलसीपुर बसपार्कसम्म चारलेन सडक बनाउने छु ।’
त्यस्तै उनले तुलसीपुर–घोराही चारलेन सडक परियोजना घातक र भारत प्ररस्त संझौता भएको बताएका थिए । ‘यसमा भारतको सिन्डिकेट छ,’ उनले भनेका थिए ‘ ५० प्रतिसत सामान भारतबाट खरिद गर्नुपर्ने बाध्यकारी प्राबधान राखिनु राम्रो हैन ।’
त्यसक्रमा उनले तुलसीपुर उपमहानगरपालिकाको बिद्युत काटिएको कुरा निकाल्दै त्यो कुरा प्रचार गरिए जसरी बिद्युत बक्यौता नतिरेका कारण नभएको बताएका थिए ।
संघीय सडक अन्तरगत रहेका बिद्युत पोलको खर्च संघीय सरकार र प्रदेश अन्तगका सडकको खर्च प्रदेशले तिरेमात्रै नगरका आन्तरिक सडकको बिद्युत पोलको खर्च नगरले तिर्ने नीतिका कारण आँफु मेयर हुँदा बिद्युत पोलको रकम नतिरेको उनले बताए ।
त्यसक्रममा उनले आँफु मेयरका रुपमा रहँदा गरेका राम्रा कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए । मातृ मृत्युदर शून्यमा झारेको, मेट्रोकलेज स्थापना गरेको, सब्जिमण्डी नयाँ बनाएको, अटोभिलेज निर्माण गरेको जस्तो सकारात्मक कार्यहरुको चर्चा परिचर्चा गरेका थिए ।
आँफुले जितेर मुख्य मन्त्री भए यस्ता कुराहरुलाई लुम्बिनीमा एजेण्डका रुपमा अगाडि सारेर विकास गर्ने योजना उनले सुनाएका थिए ।
उनले आँफु कहिलै फेल नभएको, कहिले चुनाब नहारेको भन्दै भविश्यमा पनि चुनाब जितेरै देखाउने जिकिर गरेका थिए ।
उम्मेदवार पाण्डेले एक्लै पत्रकार सम्मेलन गर्नुलाई गठबन्धन दलका नेता र उम्मेदवारहरुले भने आत्तिएको मानसिकताको रुपमा आलोचना गरेका थिए ।
‘उनी तुलसीपुरको मेयर हुँदा छोरा ठेकेदार थिए र उनले करोडौं ऋणमा नगरलाई डुवाएर गएका छन्,’ गठबन्धनका एक नेताले भने ‘ त्यो तथ्य कुरा बिपक्षी उम्मेदवारले गरेपछि लाज ढाकछोप गर्न झुटलाई सयपटक दोह¥याए सत्य साबित हुन्छ भन्ने ठानेका होलान, तर अबको जनता सचेत छन र उनले जति भ्रम छर्न खोजेपनि त्यसमा जनता झुक्किने छैनन् ।’
