२०८२ मङ्सिर २३ गते मङ्गलवार

देउखुरीमा बाढीले करोडौं क्षति

दाङ,असोज २६ । दशैंको अघिल्लो दिनदेखि लगातार चार दिनसम्म परेको झरीका कारण देउखुरी क्षेत्रमा करोडौंको क्षति भएको छ ।

देउखुरीका चार पालिकामा बाढीले ठूलो क्षति गरेको नागरिक समाज दाङले ठहर गरेको छ ।

घर र खेतबारीमा बाढी पस्दा क्षति भएको पाँच दिन बितिसक्दा पनि स्थानीय पालिकाले पीडितको लगत संकलन गर्न नसकेको तथा उद्धार पछिको राहत सहयोगमा ढिलाई गरेको समाजका पदाधिकारीले बताएका छन् ।

क्षति बारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थिति बुझ्न मंगलबार समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीमा टोली पुगेको थियो ।

बाढीका कारण देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै करोडौंको क्षति भएको समाजले अनुमान लगाएको छ ।

असोजको १९, २० र २१ गतेको वर्षापछिको बाढीले जिल्ला देउखुरी क्षेत्रका लमही नगरपालिका तथा राप्ती, गढवा र राजपुर गाउँपालिकाका विभिन्न वडामा क्षति गरेको थियो ।

टोलीले पालिका स्तरबाट भइरहेका प्रयासका बारेसमाजले चासो लिएको थियो ।

राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले पालिका स्तरमा लगत संकलनका काम भइरहेको अबगत गराएकी थिइन ।

केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नु बाहेक थप सहयोग गर्न नसकेको र माथिल्लो तहबाट सहयोगको लागि आग्रह गरिएको उनले बताइन ।

बाढीबाट बढी प्रभावितलाई सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको उनले जानकारी दिइन । तत्कालका लागि गाँस बाँसको व्यवस्था पालिकाले मिलाएको उनले बताइन ।

पालिका अन्तरगत गंगदी र जंग्रहवा स्कुलमा बाढी पीडितलाई राखिएको उनले जानकारी दिइन । राजपुर गाउँपालिकामा मात्रै ६ सय घरपरिवार प्रत्यक्ष प्रभावित उनले विवरण प्रस्तुत गरेकी थिइन ।

त्यस्तै, गढवा गाउँपालिकाको वडा नं. २ र ५ का स्थानीय बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।

ती वडाका बिस्थापित नागरिकको बस्ने खाने ब्यबस्थासहित तत्कालका लागि सामुहिक मेस चलाइएको गाउँपालिका अध्यक्ष यमनारायण पोखरेलले जानकारी दिए ।

उनका अनुसार लोखरपुरुवा गाउँका ९५ जना, महदेवा र डाँडा गाउँका दुई सय जनालाई सामुहिक मेस चलाएर खाने व्यवस्था मिलाएको छ ।

बाढीका कारण नमुना प्रावि पचहिया र प्रावि महदेवाको भौतिक संरचना पूर्ण रुपमा क्षतिभएको हुँदा पठनपाठन कसरी संचालन गर्ने भन्ने समस्या थपिएको अध्यक्ष पोखरेलले चिन्ता जाहेर गरे ।

तर, उनले गढवामा कुल कति घरपरिवार प्रभावित भएका छन ? भन्ने बारे विवरण संकलन भई नसकेको जानकारी दिए ।

ठूलो सहयोग आवश्यक परिरहेको र पालिका एक्लैले त्यो पुरा गर्न संभव नरहेको उनले बताए ।

त्यस्तै बाढीका कारण काट्ने तयारी अवस्थाको धान बालीमा पुगेको क्षतिका बारेमा कृषि शाखाले लगत संकलनको काम गरिरहेको छ ।

पशु पंक्षीको क्षति बारे पशु शाखाले काम अघि बढाएको हुँदा क्षतिको यकिन विवरण संकलनमा ढिलाई भएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए । प्रदेश र संघ सरकारलाई सहयोगको लागि आग्रह गरिने उनले बताए ।

त्यस्तै लमही नगरपालिकाको विभिन्न वडामा पुगेर बाढीले पारेको प्रभाव बारे समाजले जानकारी लिएको थियो ।

लमही नगरपालिका ७ हसनापुरका सत्यनारायण चौधरीले गाउँमा बाढी पस्दा करिब २० विगाहा बढी धानबालीमा क्षति पुगेको बताएका थिए ।

लमही ८ सतबरीयामा बाढीले उत्तिकै क्षति पु¥याएको छ ।स्थानीय गंगाराम चौधरीले २०१८ साल पछिको राप्तीमा आँफुले यति ठूलो बाढी आएको कुरा थाहाँ पाएको बताएका थिए ।

त्यस्तै राजपुर गाउँपालिका ६ गंगदीकी रानु चौधरीले घरमा बाढी पसेपछि भत्किएको हुँदा घर बिहीन बनेको बताए ।

घर भित्र माटोको भकारी ९डेहरी० मा भण्डारण गरि राखेको फुरानो धान सबै बगाइदिएको, अन्नपात र लत्ताकपडा सबै बाढीले भिजेर काम नलाग्ने हुँदा रात काट्न मुस्किल भइरहेको उनले बताए । अहिले उनको परिवार स्थानीय विद्यालयमा बस्दै आएको छ ।

स्थगलगत अनुगमनमा नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा, देउखुरी सचिव बालमुकुन्द शर्मा लगाएतको टोली पुगेको थियो ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *