२०८२ मङ्सिर २४ गते बुधवार

पश्चिमी क्षेत्रको मौसममा सुधार

काठमाडौं,असोज २६ । पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ ।

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ ।

पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुनसक्ने पनि मौसमविद्हरूले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ ।

आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रुपमा खुला रहने सो महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ ।

नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एकदुई दिनपछि ठूलो पानी पर्न थालेको थियो ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *