तुलसीपुर , असोज २४ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि दाङ जिल्ला भर नेपाली काँग्रेसबाट एक जनापनि महिला उम्मेदवार परेनन् ।
आइतबार भएको उम्मेदवारी दर्तामा काँग्रेसबाट एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । तीन निर्वाचन क्षेत्र रहेको दाङमा काँग्रेसले निर्वाचन क्षेत्र नं. ३ मा मात्रै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको छ । यहाँ काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी पार्टीबाट उम्मेदवार बनेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ (क) मा पूर्व सांसद तथा काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनाल र २ (ख) मा युवा नेता प्रचण्ड बिक्रम न्यौंपाने उम्मेदवार बनाइएका छन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं. १ (ख) मा २८ बर्षीय अनुराग खड्का उम्मेदवार बनाइएका छन् । उनी स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन ।
जिल्लामा नेकपा एमाले पार्टीबाट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि शान्ता चौधरी र क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदमा कोमल ओलीको उम्मेदवारी परेको छ ।
त्यस्तै नेकपा माओबादीकी नेतृ तथा पूर्व मन्त्री रेशा शर्मा खड्काले निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
यी बाहेक अन्य कुनैपनि स्थानमा प्रमुख दलहरु बाट कुनैपनि महिला उम्मेदवार बनाइएका छैनन् । नेपाली काँग्रेसबाट जिल्लामा एक जनापनि महिला उम्मेदवार नबाइएको प्रति महिला नेतृहरु रुष्ट बनेका छन् ।
