२०८२ असार ६ गते शनिवार

छोरी पढाउन उपमहानगरपालिकाले छुट्यायो साढे बीस लाख बजेट

नेपालगञ्ज,असोज ३ । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट छुट्याएको छ ।

गरिबी र अशिक्षाका कारण बाल विवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटनाहरू भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन बीस लाख पचास हजार रुपैयाँ बजेट छुट्याएको हो ।

उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण’का लागि छुट्याएको सो रकम केही दिनमा सूचना जारी गरेर गरिब, विपन्न, अल्पसंख्यक, जनजाती, आदिवासी बालिकालाई छनौट गरिने छ ।

साथै छनौटमा परेका बालिकाको मुद्दति खाता खोलेर पैसा जम्मा गरिने छ । त्यो पैसा उसले २० वर्ष पुगेपछि निकाल्नु पर्छ । त्यतिबेला पढाईमा निरन्तरता हुनुपर्दछ । उपमहानगरपालिकाले राखिदिएको पैसा उसले २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाइमा निरन्तरता दिन पनि सक्ने नियम छ ।

उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख उपसचिव शोभा शाहका अनुसार निर्देशिकामा बालिकाको खातामा २५ हजार रुपैयाँ राखिदिने भनिएको छ । उनले भनिन्,’खातामा २५ हजार रुपैयाँ राखिदिने भनिएको छ तर १५ हजार राखेर अलि धेरै जनालाई दिने कि भन्ने पनि कुरा भइरहेको छ । आगामी बोर्ड बैठकले यो विषय टुंग्याउँछ । अगाडि बढाउने तयारी गरेको थियो । दश लाख पचास हजार रुपैया पनि छुट्याएको थियो । प्रत्येक वडाबाट दुईरदुई जना छनौट गरेर पठाउन भनेको थियो । स्थानीय चुनावले गर्दा वडाबाट सिफारिस आएन । कार्यक्रम पनि सुरु भएन ।’

उनका अनुसार गतवर्षको साढे दश लाखमा यो वर्ष दश लाख थपेर कार्यक्रमलाई साढे २० लाखको बनाइएको छ । यसपाली पनि वडाबाट केही, मेयर र उपमेयर केही बालिका छनौट गर्ने रणनीतिलाई अघि सारिएको छ ।

नेपालगञ्जमा बालविवाह बढी नै छ । बालिकालाई ५/६ कक्षासम्म पढाउने र विवाह गरिदिने गरेको पाइन्छ । यद्यपि, पछिल्लो दिनमा खुलेयाम हुने बालविवाह रोकिएको छ । सुटुक्क वा भारतमा रहेका आफन्तीको घरमा लगेर बालविवाह गरिदिने गरेको पाइन्छ ।

मधेसी, मुस्लिम समुदायमा परम्पराको नाममा बालविवाह गरिदिने र पहाडी समुदायका बालिका भने सामाजिक सञ्जालबाट जोडिएर प्रेम तथा भागी विवाह गरेको पनि पाइन्छ । नेपालगञ्जमा बालिकालाई पढाउन कन्या स्कूल सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा सल्यानीबंगलामा कन्या मावि सञ्चालनमा ल्याइएको हो ।

त्यहाँ गरिब, विपन्न, मधेसी, मुस्लिम समुदायका बालिकाको बाक्लो उपस्थिति रहेको छ । यही बालिकालाई फोकस गरेर नेपालगञ्जमै छात्रा ९कन्या० कलेज सञ्चालन गरिएको छ । मंगलप्रसाद स्कूलको हाताभित्रै नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा कन्या कलेज सञ्चालन गरिएको हो ।

बालिकालाई फोकस गरेर उपमहानगरपालिकाले विविध गतिविधि गरिरहेको छ । नेपालगञ्जमा छोरीलाई पारी भारतमा पढाउने चलन पनि छ ।

विहेवारी उतै गर्दा सजिलो हुने ठानेर ठूला घरानियाले छोरीलाई सीमावर्ती भारतीय स्कूलमा पढाउने गर्दछन् । जो घरमै आइपुग्ने भारतीय स्कूलको सवारी साधनमा स्कूल जाने गर्दछन् ।

नेपालगञ्जमा जस्तो अभियान डुडुवा गाउँपालिकाले यसअघि नै गरिसकेको छ । डुडुवामा छोरी जन्मिने वित्तिकै खाता खोलेर पालिकाले पैसा राखिदिन्छ । जसलाई २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन्छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *