नेपालगन्ज, साउन १ । बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन ।
साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औं नम्बरमा पर्दछ ।
त्यसक्रममा मन्त्री गहतराजले जिल्लाको साक्षरता प्रतिशत ९६ दशमलब ५६ रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
उनले अब जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।
अझैं ३ दशमलब ४४ प्रतिशत साक्षर हुन बाँकी रहेको भन्दै सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह उनले आग्रह गरेका थिए ।
बाँकेका आठ वटै पालिकालाई साक्षर घोषणा गरिएसँगै शनिबार जिल्लालाई साक्षर घोषणा गरिएको हो । बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेलाई साक्षर घोषणा गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६ दशमलब ४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो ।
२०७६ सालमा साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैंया प्राप्त गरेको थियो ।
त्यस्तै खजुरा ९६ दशमलब ९९ प्रतिशत, जानकी ९८ दशमलब ६७ प्रतिशत, राप्ती सोनारी ९५दशमबल ११ प्रतिशत, नरैनापुर ९६ दशमबल १९, बैजनाथ ९७ दशमबल ५ प्रतिशत, नेपालगञ्ज ९८ दशमलब ३९ प्रतिशत र डुडुवाले ९६ दशमलब २५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए ।