नेपालगन्ज, असार २९ । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा सञ्चालन गरिएको ५ दिने नव चेतना योग शिविर सकिएको छ ।
द आर्ट अफ लिभिङ नेपालगन्जले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा शिबिर सञ्चानल गरेको हो ।
शिविरको जिल्ला न्यायाधीश षडानन्द तिवारीले समापन गरेका हुन । न्यायाधीश तिवारीले सकारात्मक सोच र सकारात्मक कर्म हुने हो भने कहिल्यै पनि तनाव नहुने बताए ।
उनले भने – ‘सुधार गृहमा बस्दा केही स्वतन्त्रताहरु मात्र खुम्चिए पनि अरु कुराहरु नरोकिएकाले राम्रो काम गरेर समाजमा पुनस्र्थापित हुनुहोस् ।’
सुधार गृहमा योग शिविर सञ्चालन गर्नु अत्यन्तै सह्रानीय काम भएको भन्दै उनले सहभागीलाई सिकेको कुरालाई हरेक दिन व्यवहारमा उतार्न आग्रह गरे ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बाल सुधार गृहका बालकलाई भविष्यमा सक्षम, योग्य र असल बनेर घर, परिवार र समाजमा उदाहरणीय बन्न आग्रह गरे ।
जयेन्दु बाल सुधार गृहलाई साढे ४ बिगाह जग्गा दान दिने जयकिशन सिंहको अध्यक्षतामा कार्यक्रममा भएको हो । त्यसक्रममा द आर्ट अफ लिभिङ नेपालगन्जले बाँकेको बाल सुधार गृहमा वृक्षारोपण गरेको थियो ।
सितल चिनी, जामुन, लगायतका विभिन्न थरिका ४५ विरुवा रोपिएको हो । बाल सुधार केन्द्रलाई पुस्तक सहयोग गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मंगलबार सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।
सकारात्मक सोच, जिउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।