सल्यान, २९ माघ । सल्यानको कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशनको समापन गरेको छ ।
मंगलबार सकिएको हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरि केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको छ । त्यसैको आधारमा योजना तथा बजेट तर्जुमा गरिएको समितिकी संयोजक तिला बुढा मगरले जानकारी दिइन । महिला स्वास्थ्य स्वयमसेबीकालाई प्रोत्साहन भत्ता ५ लाख रुपैंया छुट्याउने योजना पेश भएको छ । चालु आर्थिक वर्षको हालसम्म कार्यपालिका तथा अन्य विषयगत समितिबाट भएका निर्णयहरु गाउँसभामा पेश भएका थिए ।
केही योजनाको शिर्षक परिवर्तन गर्नुका साथै दुई दर्जन योजनाहरु विस्तृत आयोजना प्रतिवेदन तयार गरी संंघीय सरकार तथा कर्णाली प्रदेश सरकारसंग समपुरक अनुदान तथा विशेष अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्नका लागि अनुरोध गर्ने निर्णय पनि गाउँ सभाले गरेको छ ।
जसमा जामुने खाने पानी योजना, खाली मिलनबजार खानेपानी योजना, कपुरकोट चिस्यान केन्द्र स्थापना योजना, कपुरकोट दानवाङ गोठीवन रिठाबोट हुँदै सिमलकुना जोड्ने सडक योजना, पाखा पानी धैरेनी सातबास तथा लामीडाँडा सातबास मोटरबाटो योजना लगाएत रहेको गाउँपालिकाका सूचना अधिकारी जिवराज केसीले जानकारी दिए । ती बाहेक पेश भएका सबै प्रस्तावहरु अनुमोदन भएको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले बताए ।
गाउँसभाका अध्यक्ष भिमबहादुर सेनले बजेट तथा स्रोतसाधनको सिमितताका बीच जनताको घर दैलोमा सरकारको प्रत्यक्ष अनुभुति दिनेगरी कार्य गर्न आग्रह गरेका छन् । यो गाउँपालिकाले गत असारमा वार्षिक नीति तथा कार्यक्रम पारित गरेको थियो ।