बुटवल,असार १ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा लुम्बिनी बौद्ध विश्वविद्यालयले थप कक्षा सञ्चालनमा चासो व्यक्त गरेको छ ।
कलेजले विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा कानुन विषय पढाउदै आएको छ । डिप्लोमा तहमा भने कृषि वन विज्ञान पढाउदै आएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्य र नगरप्रमुख टीकाराम खडका,कुलसचिव डा. तिलकराम आचार्य र उपप्रमुख स्यानी चौधरीबीच छलफल भएको थियो ।
छलफलका क्रममा उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्यले हाल सञ्चालन भइरहेका विषयको समीक्षा गरेर कक्षा थप गर्न सकिने बताए । उनले दाङमा आर्युवेद क्याम्पस,वन जङ्गलले भरिपूर्ण जिल्ला भएकाले कृषि वन विज्ञानमा स्नातक तह कक्षा सञ्चालन गर्न सकिने बताए ।
नगरप्रमुख टीकाराम खडकाले नेपालभरबाट मेट्रो कलेजमा कानुन विषय पढ्ने विद्यार्थी आकर्षण बढेकाले सङ्ख्या ४० बढाएर ८० जना पुर्याउन आग्रह गरेका थिए ।
खडकाले स्थानीय सरकारले शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गरे ।
त्यस्तै उपप्रमुख स्यानी चौधरीले समाजमा विकासको पूर्वाधार शिक्षा भएकाले थप कक्षा सञ्चालनमा सहयोग गर्न आग्रह गरेकी थिइन ।

