२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिपूर्ण आन्दोलनमा आउन विप्लवलाई पहाडीको आह्वान


शरद रेग्मी
दाङ,२६ माघ
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेतृत्वको नेकपालाई पुरानो दलको हिंसाको मार्गतिर नजान आग्रह गरेका छन् । ‘शान्तिपूर्ण र रचनात्मक मार्गमा आनुहोस्’ पहाडीले आह्वान गरे । मानवअधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरिएको सन्दर्भ मानव अधिकार र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै पहाडीले गतल बाटोलाई त्यागी शान्ति प्रक्रियामा आउन विप्लप नेतृत्वको नेकपालाई आह्वान गरे ।

‘इतिहासबाट पाठ सिक्नुपर्छ, विपी नेतृत्वको नेपाली काँग्रेसले पनि हिंसात्मक आन्दोलन गरेको थियो, परिणाम के भयो ? विपी कोइरालाले स्वीकार गर्नुभयो, यो माध्यमबाट हामी कोही रहदैनौँ, २०३३ सालमा मेलमिलाप नीति ल्याएर देश फर्कनुभयो । परिणाम स्वरुप २०३६ सालमा लोकतन्त्रको विशाल आन्दोलन शुरु भएकै हो’ वरिष्ठ मानव अधिकारकर्मी पहाडीले स्मरण गराए ।

नेकपा मालेले पनि हिंसात्मक आन्दोलन त्याग्यो, १२ बुँदे सहमति गरेर तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण मार्गमा आयोे, २०६५ सालमा माओवादीले देशको नेतृत्व गरेकै हो । विगतमा गरेको हिंसाको अनुमोदन होइन, शान्तिपूर्ण मार्गमा आएका कारण नागरिकले मतदान गरी मुलुक सञ्चालन गर्न स्वागत गरेका छन् । त्यसैले राजनीतिक रिक्ततालाई भर्नका लागि हिंसाको दलदलमा नजान दाङबाट फेरी पनि विप्लप नेतृत्वको नेकपालाई आग्रह गर्छु, उनले भने ।

अर्को प्रसंगमा उनले भने, सरकारमा सहिंष्णुता हुनुपर्छ । सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ, खराब अभिभावकले गलत आचरण प्रदर्शन गर्छ, त्यसकारण सकारात्मक आचरणको भूमिका खेल्न सरकारलाई आग्रह गरे । समाजवादी सरकारले उठाउने स्वास्थ्यसम्बन्धी सवाल सत्याग्रही डाक्टर गोविन्द केसीले उठाएका छन् ।

नेपालको स्वास्थ्य सेवा अत्यन्त खर्चिला भएकाले गरिब जनतालाई ठूलो रोग लाग्यो भने घर जग्गा बेच्नुपर्छ कि मृत्युको मुखबाहेक अरु कुरै छैन् । जनमुखी जनतामुखी स्वास्थ्यको कार्यक्रम ल्याउनुपर्ने हो तर ल्याईदैन । नागरिक समाज पछिल्ला दिनमा सरकारका यस्ता क्रियाकलापका कारण त्रसित भएको छ । अराजकवादी आन्दोलन नेपालमा तराईलाई केन्द्र बिन्दु बनाई उठ्यो भने नियन्त्रण बाहिर जान सक्ने आशंकासमेत उनले गरे ।

वाईडबडी प्रकरणमा जनतालाई तीन–तीन पटक झुठो बोल्ने मन्त्री रविन्द्र अधिकारले राजीनामा दिनुपर्छ होइन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको सुझाव छ । वर्तमान सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसभन्दा आफ्नै पार्टी नेकपा संसदीय दलबाटै दुर्घटना हुनसक्ने बिचारसमेत उनले व्यक्त गरे ।

शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा मानव अधिकार र शान्ति सम्मेलन गर्न आह्वान गरे । नगर प्रमुख पाण्डेले सुशासन र पारदर्शीता आफ्नो प्रमुख अभियान रहेको भन्दै त्यसमा सबै नगरबासीहरुलाई सहयोग गर्न आह्वानसमेत गरे । उनले शान्ति समाजको अभियानमा आफू सधैंभरि सहयोगीको भूमिकामा रहनेसमेत प्रष्ट पारे ।

उक्त अवसरमा नेकपा दाङका नेता टिकाराम खड्का, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेपाली काँग्रेस सल्यानका पूर्व सभापति ध्रुवराज पुरी, मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय महासचिव सुशील बस्नेत, बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धिताल, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्य, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य चूर्णबहादुर चौधरी, महिला मानवअधिकार रक्षक सञ्जालका निर्वतमान अध्यक्ष सुष्मा गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, तुलसीपुर नगर जेसीजका प्रवक्ता नारायण भट्टराई, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेललगायतले मानवअधिकार र सुशासनका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विषय प्रवेश शाखाका पूर्व सभापति निर्मल नेपालीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनार र सहजीकरण सचिव निर्मला डिसीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *