दाङ, जेठ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाका कारण तत्काल मन्त्रीमण्डल हेरफेर नहुने संभावना बढेको छ ।
नेकपा एकीकृत समाजबादीले यसअघि आफ्नो पार्टीबाट मन्त्रीमण्डलमा पठाएकाहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारहरु मन्त्रीमण्डलमा पठाउन अध्यक्ष माधवकुमार नेपालले नाम सिफारिस गरेका थिए ।
फिर्ता बोलाउन थालिएका मन्त्रीहरुले आँफुहरु असार मसान्तसम्म पदमा रहन पाउनु पर्ने कुरा प्रधानमन्त्री देउवालाई आग्रह गरेको हुँदा तत्काल मन्त्रीमण्डल हेरेफरको संभावना टर्न सक्ने संभावना बढेको स्रोतले जानकारी दियो ।
‘प्रधामन्त्री देउवा र सत्ता साझेदार दल मध्यको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत हाम्रा अध्यक्ष माधव कमरेडलाई अहिले नै मन्त्री फेरबदल गर्ने कुरा नगर्नुस भन्नु भए छ,’ समाजबादीका एक नेताले भने ‘ जबाफमा माधव कमरेडले आँफुले मन्त्रीहरु फिर्ता बोलाई सकेको भन्दै आजै राष्ट्रपति समक्ष सपथका लागि नाम सिफारिस गर्नुस भनेर जोड गरेर निस्कनु भएको रहेछ । त्यसैले के हुन्छ भन्ने सक्ने अवस्था रहेन ।’
दाङ निर्वाचन क्षेत्र नं। ३ का संघीय सांसद तथा यतिखेर श्वास्थ्य राज्य मन्त्री बन्न लागेको भनेर चर्चा पाएका हिराचन्द्र केसीले पनि आँफुले केही बेर अगाडि मात्रै अध्यक्ष माधवकुमार नेपाल कुरा नमिले पछि बालुवाटारबाट निस्किएको भन्ने सूचना पाएको जानकारी दिए ।
‘माधव कमरेडले आजै सपथका लागि राष्ट्रपतिलाई पत्रचार गर्नुहोस भन्नु भएछ र जबाफमा प्रधानमन्त्री देउवा र प्रचण्ड कमरेडले तत्कालका लागि रोक्न आग्रह गर्नु भएको कुरा मैले सूचना पाएको छु,’ केन्द्रीय सदस्य समेत रहेका केसीले भने ‘ के हुन्छ भन्ने कुरा अझैं टुँगो छैन । सपथ कहिले हुन्छ भनेर अध्यक्षसंग थप कुरा भएपछि मात्रै भन्नु राम्रो होला ।’
शहरी विकाश मन्त्री बन्न लागेको चर्चा चलिरहँदा दाङ क्षेत्र नं. १ का संघीय सांसद तथा उक्त पार्टीका पोलिट ब्यूरो सदस्य मेटमणि चौधरीले पनि सपथ कहिले हुन्छ भन्ने कुरा एकीन भइ नसकेको बताए ।
तर, उनले मधेशबादी दलहरुबाट समेत मन्त्रीमण्डलमा केही परिवर्तन हुन थालेको हुँदा उनीहरुले जति छिटो त्यसको टुँगो लगाउँछन् त्यति नै छिटो सपथ हुने तर्क गरे ।‘सबैले संगै र एकै पटक हेरफेर गरौं भन्ने कुरा आएको छ रे,’ चौधरीले भने ‘ त्यसैले मधेशबादी दलहरुले जति छिटो टुँगो लगाउँछन् नयाँ मन्त्रीको सपथ त्यति नै छिटो हुन्छ होला ।’
तर, उनले अब आफ्नो पार्टीबाट यसअघि मन्त्री भएकाहरुलाई फिर्ता बोलाई सकेको हुँदा छिट्टै मन्त्रीमण्डल हेरफेर हुने विश्वास भने ब्यक्त गरे ।पार्टीका उपमहासचिव प्रकाश ज्वालाले पनि मन्त्रीमण्डल हेरफेरको कुरा केही लम्बिन सक्ने संकेत गरे । ‘मैले आज के भइरहेको छ भनेर माधव कमरेडलाई बुझ्न पाएको छैन,’ उनले थपे ‘ तर, मन्त्री मण्डल हेरेफेरको कुरा गर्दा सपथ केही दिन अझैं लम्बिने सक्ने संकेतहरु देखिएका छन्।’
स्रोतका अनुसार करिब ६ महिना अगाडि मन्त्री भएकाहरुलाई समाजबादीले फिर्ता बोलाएपछि नेकपा माओबादी केन्द्र, मधेशबादी दलहरुमा समेत त्यस्तो आवाज उठ्न थालेपछि अहिले नै फेरबदल नगरौं भनेर माधव नेपाललाई अन्यदलहरुले पनि मनाउन थालेका छन् ।
तर, आँफुले बचन दिइ सकेको हुँदा र मन्त्रीहरुलाई फिर्ता बोलाई सकेको हुँदा आँफु ब्याक हुन नसक्ने अडानमा समाजबादीका अध्यक्ष नेपाल रहेका छन् ।